निजामती कर्मचारीको शिर झुक्ने गरी ऐन पारित हुन दिन्नौं : पूर्णबहादुर खड्का

सफल खबर संवाददाता

शनिबार, १७ चैत्र २०८०, १४ : २२
निजामती कर्मचारीको शिर झुक्ने गरी ऐन पारित हुन दिन्नौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले निजामती कर्मचारीको शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित हुन नदिने बताएका छन् ।

नेपाल निजामती कर्मचारी यूनियनद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा पुगेको ऐनलाई सबै तहका कर्मचारीको सेवा, सुविधा, वृत्ति विकासको सुनिश्चित हुने गरी मात्रै ऐन पारित हुने बताए ।

`ट्रेड यूनियन अधिकारलाई सुनिश्चित गर्दै कर्मचारीको हितमा ऐनलाई व्यवहारिक बनाउन पार्टीकोतर्फबाट कुनै कसर रहने छैन,´ उनले भने, `यसको लागि कर्मचारी संगठनहरूले पनि आवश्यक पहल गर्नुपर्छ ।´

संसदको ठूलो दलको हैसियतले अन्य दलसँग समेत समन्वय गर्दै छिटोभन्दा छिटो ऐन पारित गर्न भूमिका  खेल्ने बताए । यही अधिवेशनबाट ऐन पारित नभए निजामती ऐनको भविष्य अन्योलमा पर्ने उनले बताए ।

सरकार पुनर्गठनअघि काङ्ग्रेसको तर्फबाट नेतृत्व गर्दै उपप्रधानमन्त्री रहेका खड्का निजामती विधेयकको मस्यौदालाई अन्तिम रूप दिन गठित समितिका संयोजक थिए । सोही समितिले सबै सरोकारवालासंग छलफल गरेको विधेयक संससमा पुगेको उनले बताए ।

कर्मचारी यूनियनका अध्यक्ष गोपाल पोख्रेलले संसदमा पुगेको ऐनमा थुप्रै त्रुटि रहेको बताउँदै यसको लागि संसदमा रहेका सबै दकको  सहयोग आवश्यक पर्ने बताए । त्यसगरी निजामती कर्मचारी यूनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले सबै निजामती कर्मचारीको हितमा ऐन बन्न नसके त्यसलाई स्वीकार्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस