विद्यालयका तत्कालीन लेखापाल र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १५ : ४१
विद्यालयका तत्कालीन लेखापाल र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चुडामणि पोख्रेल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदीश चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

निजी श्रोत शिक्षकलाई तलब खुवाउने बहानामा विद्यार्थीहरूबाट विभिन्न शीर्षकमा चर्को शुल्क लिई अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। शैक्षिक सत्र २०७२/२०७३ मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट चर्को शुल्क लिएको आयोगको दाबी छ ।

लेखापाल पोख्रेलले लेखा श्रेस्ता दुरुस्त नराखेको, रसिद अनियन्त्रित रुपमा प्रयोग भएको, कतिपय अवस्थामा रसिदको प्रयोग नगरी रकम लिएको, विद्यार्थीहरूबाट दोब्बर दस्तुर लिएको, रसिदमा उल्लेख गरेको भन्दा बढी रकमसमेत लिने गरेको अभियोगपत्रमा उल्लेख छ ।

राखेको लेखा श्रेस्ताले स्पष्ट विवरण दिन नसकेको, रसिद नियन्त्रण खाता नभएको, कुनै कारोबारमा रसिद प्रयोग नगरी कागजको चिटको भरमा रकम उठाएको, विद्यार्थीबाट उठेको रकम मनोमानी खर्च गरेको पाइएको हो ।पोख्रेल विरुद्ध ८ लाख ९२ हजार २६७  रुपैयाँ बिगो कायम गरिएको छ ।

त्यसै गरी तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीविरुद्ध २ लाख २० हजार रुपैयाँ बिगो कायम गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

चौधरीले आफूखुसी चेक काटी रकम निकासा गरेको, तर उक्त चेक के का लागि काटिएको भनी उल्लेख नभएको,  र निकासा भएको रकमको खर्चको विवरणसमेत नराखेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस