लागुऔषध कोकिन तस्करीमा संलग्न गिरोहका दुई जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १३ : ४९
लागुऔषध कोकिन तस्करीमा संलग्न गिरोहका दुई जना पक्राउ

काठमाडौं । लागु औषध कोकिन तस्करीमा संलग्न गिरोहका दुई जना सदस्यलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । पक्राउ परेका ब्राजिलियन नागरिकहरुले कोकिन राखिएको क्याप्सुल निल्ने र पेटमा राखेर नेपालसम्म तस्करी गर्ने गरेको खुलेको हो ।

ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोसले यसरी कुल १ केजी ४५५ ग्राम कोकिन तस्करी गरेको पाइएको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।  अनुसन्धानको क्रममा निजहरु दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरु निलेर पेटमा लुकाउ छिपाउ गरी नेपाल ल्याएको खुल्न आएको छ’, उनले भने । विभिन्न मुलुकहरूबाट नेपाल प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको  निगरानी गर्ने क्रममा प्रहरी उनीहरुसम्म पुग्न सफल भएको थियो ।

चैत १३ गते काठमाडौँको ठमेलको  एक होटेलमा  लारिसनले सुटकेस भित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले लुकाएको पनि थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट  कोकिन १ किलो ३९० ग्राम बरामद भएको थियो । यस्तै नेपाल प्रहरी अस्पतालमा परीक्षण गराउँदा लारिसनको पेटबाट थप ६५ ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ । 

बरामद कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार बराबर भएको बताइएको छ । दुबै जनालाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरु अन्तर्राष्ट्रिय लागूऔषध तस्करीमा आबद्ध गिरोहका सदस्यहरु भएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस