मुन्दुम पदमार्ग प्रबर्द्धन गर्न भोजपुरको चखेवामा महोत्सव

सफल खबर संवाददाता

मंगलबार, १३ चैत्र २०८०, १४ : ५२
मुन्दुम पदमार्ग प्रबर्द्धन गर्न भोजपुरको चखेवामा महोत्सव

भोजपुर। मुन्दुम पदमार्गसहित कृषि, पर्यटन र संस्कृतिको प्रबर्द्धन गर्न भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ स्थित चखेवा भञ्ज्याङमा महोत्सव हुने भएको छ । आगामी २०८१ वैशाख १ देखि ३ गतेसम्म महोत्सव हुन लागेको हो ।

महोत्सवमा स्थानीय कृषि उत्पादन, पर्यटकीय क्षेत्रको प्रचार तथा कला संस्कृतिको प्रबर्द्धन गरिने आयोजक संस्था चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिका अध्यक्ष आइकुमार राईले बताए ।​टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा महोत्सव हुन लागेको हो ।

महोत्सवमा कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडी पाखीहरूको स्टल, स्थानीय परिकारको स्टल राखिने आयोजकले जनाएको छ ।सरकारले देशभित्र घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम पदमार्गमा पर्ने चखेवा भञ्ज्याङ भोजपुर र खोटाङको सिमाना हो ।

गाउँपालिकाले सन् २०२५ लाई मुन्दुम पर्यटकीय वर्षका रुपमा मनाउने तयारी गरिरहेको छ । त्यसैका लागि अग्रिम प्रचार स्वरूप यो महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । 

महोत्सवमा मुन्दुम पदमार्गका बारेमा वृत्तचित्र प्रदर्शनी गरिनेछ । गाउँपालिकाको रु १० लाख र आयोजक संस्थाको रु तीन लाख गरी १३ लाखको लागतमा महोत्सव हुन लागेको हो । महोत्सव अवलोकनका लागि ५० हजार मान्छे ल्याउने आयोजकको लक्ष्य छ । 

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहनेछ ।साहित्यिक कार्यक्रम पनि रहने आयोजकको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पर्यटकीय सम्भावना बोकेको क्षेत्रको विकास र प्रचारका लागि प्रत्येक वर्ष यस्ता महोत्सव आयोजना गरिने बताए ।

प्रतिक्रिया दिनुहोस