आज काठमाडौंमा पानी पर्ने सम्भावना कति ?

सफल खबर संवाददाता

आइतबार, ११ चैत्र २०८०, ११ : ५०
आज काठमाडौंमा पानी पर्ने सम्भावना कति ?

काठमाडौं। होली पर्वका दिन आज दिउँसोदेखि काठमाडौं उपत्यकासहित कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

 

उनका अनुसार हिजोअस्तीको तुलनामा आज मौसम केही सफा हुने भएपनि रातिदेखि पुनः बदली भएर वर्षाको सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायूको प्रभावसहित स्थानीय वायुको प्रभाव तथा भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर आशिंकदेखि मुख्यतया वदली छ ।

 

मौसमविद् अर्यालले भने, ‘नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आँशिकदेखि साधारणतया बदली रहेको छ ।’काठमाडौंको अहिलेको वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता पाँच किलोमिटर रहेको छ ।

आजको न्यूनतम तापक्रम १३ दशमलब ६ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् अर्यालले बताए । 

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भुभागका थोरै स्थानहरु र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ  ।