प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, ११ : ५७
प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त

काठमाडौँ । कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त भएकी छन् । कोशी प्रदेश मन्त्री परिषद्को आज बसेको बैठकले पूर्वसांसद कार्कीलाई प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

प्रदेश सभाको पहिलो कार्यकालमा कार्की नेपाली काँग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् ।२०७८ साल चैत २२ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा जिना कार्की नियुक्त भएकी थिइन् । अमेरिका गएपछि उनले तीन महिनाअघि जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् । जिनाको राजीनामापछि रिक्त रहेको पदमा मुख्यमन्त्री केदार कार्कीले विन्दियालाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले प्रदेश सभाका २ जना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने, सङ्घीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।

यसैगरी विकास बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राई नियुक्त भएका छन् ।यसै गरी बैठकले प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले १४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले बताए ।

बैठकले प्रदेश सरकारले २०८१ सालमा दिने ५ वटा सार्वजनिक बिदा पनि स्वीकृत गरेको छ ।बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँड गर्ने, बेरुजु न्यूनीकरण तथा फर्छ्यौट सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डिपि पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री सुनुवारले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस