जनकपुरमा आरती साहकी सासु पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०४ चैत्र २०८०, २० : ०६
जनकपुरमा आरती साहकी सासु पक्राउ

जनकपुरधाम । आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासु रेणुदेवी साहलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोककी ५५ वर्षीया साहलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

आरती साहको हत्या मुद्दामा सासु रेणु फरार प्रतिवादी थिइन् । प्रहरीले यही मुद्दामा आरतीका देवर रवि साहलाई पनि २३ फागुनमा पक्राउ गरेको थियो । आरतीका श्रीमान मोतीबाबु भने हाल पुर्पक्षका लागि थुनामा छन् ।

गत ७ जेठमा जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी आरती घरमै मृत अवस्थामा भेटिएकी थिइन् । आरतीका बाबुआमाले भने दाइजोका कारण परिवारकै सदस्यको संलग्नतामा हत्या भएको दाबी गर्दै सासु, ससुरा, श्रीमान, देवरलगायतविरुद्ध जाहेरी दिएको थियो ।

सुरुमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत धनुषामा श्रीमान मोतीबाबु र ससुरा मदनमोहनमाथि कर्तव्यज्यान मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर जिल्ला अदालतको थुनछेक आदेश नमिलेको भन्दै उच्च अदालत जनकपुरले उनीहरुलाई तारेखमा छाड्न आदेश दिएको थियो ।

आरती साहको बाबु, आमा र भाइबहिनीले काठमाडौंमा लामो समयसम्म यो घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए । पछि सर्वोच्च अदालतले भने श्रीमान मोतीबाबुलाई थुनामा राख्न र ससुरालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

आन्दोलनरत्त आरती साहकी माइतपक्षसंग केहीदिन अघि गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत घटनाको पुन अनुसन्धान गर्ने लगायतको ५ बुँदे सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस