डब्लूएचओका प्रमुखको आग्रह– रफाहमाथिको आक्रमण रोक्नू

सफल खबर संवाददाता

आइतबार, ०४ चैत्र २०८०, १३ : ३०
डब्लूएचओका प्रमुखको आग्रह– रफाहमाथिको आक्रमण रोक्नू

काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा भइरहेको स्थलगत आक्रमण रोक्न इजरायललाई आग्रह गरेका छन् । 

डब्लूएचओका प्रमुख गेब्रेयेससले ट्वीटरमार्फत जारी सन्देशमा लेखेका छन्, ‘रफाहमाथि इजरायलले स्थलगत आक्रमण गर्ने योजनाले मलाई निकै चिन्तित तुल्याएको छ ।’

 

उनले भने, ‘घना बस्ती भएको यस क्षेत्रमा हिंसाको थप वृद्धिले धेरैको मृत्यु र पीडा निम्त्याउनेछ । विशेषगरी स्वास्थ्य संस्थाहरू पहिले नै क्षमताभन्दा बढी सेवा दिन बाध्य भइरहेका छन् ।

आक्रमणपछि यहाँको स्वास्थ्य अवस्था थप अस्तव्यस्त हुनेछ ।’इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रवार रफाहमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका थिए ।

डब्लूएचओ प्रमुख टेड्रोसले यो मानवीय विपत्तिलाई अझ खराब हुन दिनु नहुने बताउँदै इजरायललाई सैन्य अभियान अघि नबढाउन र ‘मानवताको लागि’ शान्तिको बाट तय गर्न आग्रह गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस