सिन्धुलीको टेलिकम टावर परिसरमा बम विष्फोट

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १० : ०१
सिन्धुलीको टेलिकम टावर परिसरमा बम विष्फोट

काठमाडौ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटीसी)को टावर परिसरमा बम विष्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको छ । टेलिकम टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

टेलिकमको टावर परिसरभित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईँमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस