फतुवा विजयपुरमा शिक्षकहरूको अडान कायमै, ६ हजार विद्यार्थी परीक्षा दिनबाट वञ्चित

सफल खबर संवाददाता

विहीबार, ०१ चैत्र २०८०, ११ : ०३
फतुवा विजयपुरमा शिक्षकहरूको अडान कायमै, ६ हजार विद्यार्थी परीक्षा दिनबाट वञ्चित

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा शिक्षकहरू आन्दोलनबाट पछि नहटेपछि वार्षिक परीक्षा प्रभावित भएको छ ।  आज देखि हुने भनिएको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा शिक्षकहरूले बहिष्कार गरेका हुन्। शिक्षकको बहिष्कारको कारण नगरक्षेत्र अन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झन्डै ६ हजार बालबालिका वार्षिक परीक्षा दिनबाट वञ्चित भएका छन्।

नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा आज बिहान दुधिअवाको प्राङ्गणमा सम्पन्न बैठकले बुधवार निर्णय गरिए अनुसार वार्षिक परीक्षा बहिष्कार यथावत् राख्ने सहमति भएको हो।

फतुवा विजयपुरमा नगरपालिका स्थापना भएदेखिनै आफ्नै तलब पाउन प्रत्येक वर्ष आन्दोलन गर्नुपर्ने बाध्यताको अन्त्यको लागि यस पटक परीक्षा बहिष्कार गर्ने निर्णयलाई सर्वसहमतिले कार्यान्वयन गर्ने बैठकमा सल्लाह भएको शिक्षा संयोजक यादवले जानकारी दिए।

बैठकमा मावि दुधिअवा प्रधानाध्यापक रवीन्द्र साह, मावि विजयपुर शंकर राय, हिमालीवास बाबुराम आचार्य, शितलपुर माविका बुनिलाल यादव, निमाबी डुमरियाका सन्तोष जयसवाल, निमाबी भैसहीका अशोक जयसवाल, निमाबी लक्ष्मीनियाका जयकिशोर साह, निमाबी बैरगनियाका प्रधानाध्यापक रामनाथ यादव लगायत शिक्षकहरूको सहभागिता रहेको थियो।

फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ मावि ४ निमाबी र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउनदेखि हालसम्म तलब पाएका छैनन्।होली पर्व आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू बुधवार बिहान १० बजेदेखि नगरपालिका अगाडि धर्नामा बसेका थिए।

नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा बसेको बैठकले जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन वार्षिक परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको थियो।

कार्यवाहक मेयर अम्बेया खातुन र नेपाल शिक्षक सङ्घ रौतहटका अध्यक्ष रामकृपाल यादवले ६ हजार विद्यार्थीको भविष्यको लागि वार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरू लाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस