एसियाली छनोट खेल्ने तेक्वान्दो टोली आज चीन जाँदै

सफल खबर संवाददाता

सोमबार, २८ फागुन २०८०, ०८ : ४०
एसियाली छनोट खेल्ने तेक्वान्दो टोली आज चीन जाँदै

File pic

काठमाडौं । फ्रान्सको पेरिसमा हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ । छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदैछ ।

पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अन्जली तामाङ्ग र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रत्येक तौलसमूहमा पहिलो र दोश्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुने छन् । प्रशिक्षकमा टीकाप्रसाद लिम्बू छन् ।

छनोट मार्च १५ र १६ तारिखमा हुनेछ । त्यसका लागि टोली सोमबार चीन प्रस्थान गर्दैछ । पेरिस पारालिम्पिक छनोटअन्तर्गत के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेशा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता हुन् । बाँकी दुईको भने यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । मार्च १७ तारिखमा हुने प्रतियोगितामा सहभागी हुन टोली मार्च १४ तारिख चीन प्रस्थान गर्ने छ । हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकलाई छनोट हुने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस