निर्मलाका आमाबुबाको लागि खोई गाउँमा सिंहदरबार ?

शुक्रबार, २९ भदौ २०७५, १३ : १४
निर्मलाका आमाबुबाको लागि खोई गाउँमा सिंहदरबार ?

सरकार भन्छ गाउँगाउँमा सिंहदरबार पुग्यो । सरकार यो पनि भन्छ सिंहदरबारको अधिकार गाउँमै पाइन्छ । यसो भन्ने सरकारलाई अलिकति लाज लाग्नुपर्ने हो कञ्चनपुरको निर्मला पन्त हत्या घटनाले । तर लाज पचाउँछ सरकार र अझै भनिरहन्छ गाउँमा नै छ सिंहदरबार । चुनावको बेला गाउँगाउँमा आउँछ सिंहदरबार, न्याय अधिकार घरमै पाउनुहुन्छ भन्दै कञ्चनपुरकी निर्मलाकी बुबा यज्ञराज पन्त र आमा दुर्गादेवीसँग धेरैले भोट मागे । उनीहरुले होला त नि सिंहदरबार गाउँमै आउने भयो भन्दै भोट दिए । जिताए पनि । 
तर उनीहरुका लागि सिंहदरबार काठमाडौँमै रहेछ । आज छोरी निर्मला पन्तको बलात्कारपछि हत्याको दोषीलाई कारबाहीको माग गर्दै बुबा यज्ञराज र आमा दुर्गादेवी काठमाडौँ आएर सिंहदरबारसँग न्याय मागिरहेका छन् । सरकार खै कहाँ आयो उनीहरुका लागि गाउँमा सिंहदरबार ? गाउँमा सिंहदरबार आएको भए उनीले गाउँमा नै न्याय पाउने थिए । तर सरकार अब जनता नझुक्याऊ, गाउँमा छैन सिंहदरबार ।
न्याय मागिरहेका निर्मलाकी बुबाआमालाई सिंहदरबारले हेरिरहेको छैन । बरु उल्टो सिंहदरबारबाट बेलाबेला निस्कने बोलीका फोकाहरुले उल्टो उनीहरुलाई पीडा थपिरहेको छ । ओई काठमाडौँको सिंहदरबार गाउँमा नआए पनि काठमाडौँबाट निर्मलालाई न्याय दिन सक्दैनस् । सक्दैनस् भने हात उठाएर जनतासामु आत्मसमर्पण गरे हुन्छ ।
नेपाल प्रहरी कमजोर छैन 
नेपाल प्रहरी कमजोर छैन, तर निर्मला हत्याकाण्डमा प्रहरी किन कमजोर बनिरहेको छ थाहा छैन । निर्मलाको घर गएर नालायक नेतृत्वले लञ्जित भएको छु भन्ने आईजीपी सर्वेन्द्र खनालमाथि नै प्रश्न खडा भएको छ । आज निर्मलाको बलात्कारपछि हत्या भएको झन्डै दुई महिना हुँदै नेपाल प्रहरी दोषी पत्ता लगाउन सकेको छैन । बरु निर्दोषलाई यातना दिएर घटना कबुल गर्न लगाउने कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टजस्ता प्रहरी फोर्सले आज उच्च भएको नेपाल प्रहरीको छविलाई धुँजाधुँजा बनाएको छ । निर्मला हत्याकाण्डका दोषीलाई हालसम्म पत्ता नलगाउँदा आईजीपी खनालमाथि नै नराम्रो धव्बा लगाएको छ । 

नेपाल प्रहरी कमजोर छैन । चाहेमा उसले तत्काल निर्मलाका हत्याराहरुलाई कारबाही गर्न सक्छ, तर प्रहरी नै यस विषयमा गम्भीर बनिरहेको छैन । निर्मलाको हत्याको सम्पूर्ण प्रमाणहरु मेट्ने प्रहरीमाथि अनुसन्धान थालिएको छैन । घटनाको जानकारी गराउँदा प्रहरीले उल्टो निर्मलाका आमाबुबालाई हप्कीतप्की गर्ने, निर्मलाको सुरुवाल धुने, निर्दोषलाई समातेर घटना कबुल गर्न लगाउने, न्याय माग्दा गोली ठोक्ने प्रहरी नै शंकाको घेरामा छ । निर्मलाको न्यायको लागि देश नै उल्टिरहेको बेला सरकार कानमा तेल हालेर बस्छ भने यो भन्दा अर्को नालायकीपन अरु के हुन्छ ?
न्याय माग्न जाँदा गोली ठोक्ने, निर्दोषलाई अपराधी भनेर जेलमा कोच्न खोज्ने प्रहरीलाई कुनै कारबाही हुँदैन ? ओई सिंहदरबार पहिला निर्दोषलाई यातना दिने प्रहरीमाथि अनुसन्धान गर, घटनाको प्रमाण मेट्ने प्रहरीमाथि छानविन गर, घटनामा कोकसको शंका छ उसमाथि छानिविन गर । नेपाल प्रहरी यति पनि गर्न नसक्ने कमजोर छ ?
अहिले निर्मलाकी आमाको पक्षमा प्रहरी प्रशाासनबाहेक सिंगै मुलुक एकजुट भएको छ । सिंहदरबार तँ काठमाडौँमा नै बसे पनि यस घटनाबाट भाग्न पाउँदैनस् । निर्मलालाई न्याय दिलाउन सिंगो मुलुक उठेको छ । अझै उठिरहन्छ, जबसम्म निर्मलाले न्याय पाउँदिनन् ।
रामेछापकी डिल्लीमाया तामाङले छोरीको बलात्कारको दोषीलाई पक्राउ गराउन ७ वर्ष लडाइँ लडेकी थिइन् । तर प्रहरीले डिल्लीमायाको छोरी सुन्तलीको दोषीलाई पक्राउ गरेर छोड्यो । 
डीएसपी कुमोद ढुंगेल रामेछाप पुगेपछि सफल भयो । ढुंगेल आफैं खटिएर भारतको आन्दमान निकोबार टापुसम्म अभियुक्त श्याम राउतलाई खोज्दै पुगेर ल्याए । सुन्तलीका हत्यारा ७ वर्षपछि अन्दमानबाट पक्राउ पर्दा नेपाल प्रहरीको अनुसन्धान प्रणालीको वाहवाही भएको थियो त्यसबेला ।

तर निर्मलाको घटनामा नेपाल प्रहरीको अनुसन्धान छिछि भएको छ । नेपाली प्रहरीको उच्च साखलाई निर्मला काण्डले धुलोमा चटाइदिएको छ । यो घटनाले यति ठूलो रुप लिइसक्दा आईजीपी सर्वेन्द्र खनाल आफैँ यसको अनुसन्धान गर्न किन खटिएका छैनन् ? उनले अब भन्नैपर्छ, यो काण्डमा म आफैँ खटिन्छु र दोषीलाई पक्राउ गर्छु ।  जसरी डीएसपी कुमोद ढुंगेल आफैँ खटिएर रामेछापका ७ वर्षअघिको सुन्तली बलात्कारका दोषीलाई पक्राउ गरे, त्यसैगरी अब आईजीपी सर्वेन्द्र खनाल आफैँ खटिएर निर्मला बलात्कारका दोषीलाई समात्नुपर्छ, आईजीपी खनाल त्यसो गर्न सके भने बल्ल प्रहरीको साख जोगिन्छ, होइन भने काठमाडौँको सिंहदरबार विरुद्ध जनता जाग्नेछन् । निर्मलाको बलात्कारपछि हत्या राज्यविरुद्धकै फौजदारी अपराध हो । आई सिंहदरबार अब सुत्ने बेला छैन, उठ् निर्मलाका हत्यारा पत्ता लगाउन ।
दुर्गादेवीहरुले हत्यारालाई कारवाही गरिदेऊ भनेर सत्ताको आँगनमा न्यायको भीख माग्दै हिँड्नुपर्ने अवस्थाले सिंगो समाजको शीर निहुराएको छ । जसरी सुन्तलीको बलात्कारी हत्यारा पहिचान भएर पनि उसलाई कारवाहीको दायरमा ल्याउन डिल्लीमायाले ७ वर्ष संघर्ष गर्नुर्पयो, त्यही नियति दुर्गादेवीको हकमा पनि दोहोरिएको छ ।
निर्मलाको शव भेटिएको ठाउँबाट प्रमाण नष्ट गर्नेदेखि दाहसंस्कार गर्नेबेलासम्म प्रहरीको बलजफ्ती नै अनुसन्धानको पहिलो पाटो हो । यो प्रकरणको अनुसन्धान प्रहरीबाटै शुरु नगरी अपराधीसम्म पुग्न सकिँदैन भन्ने कुरा सामान्य मान्छेले त भन्छ भने प्रहरी नेतृत्वले नबुझेको कुरा होइन ।
निर्मलाको रगतको छिटाले प्रहरी संगठनको निधार लत्पतिएको छ । यसलाई पखाल्न आइजीपी सर्बेन्द्र खनालको तत्काल पहलकदमी चाहिएको छ । के निर्मलाको हत्या प्रकरणको अनुसन्धान नेपाल प्रहरीको ल्याकतले नभ्याउने तहको हो ? कसैले पनि यो पत्याउन सक्दैन । यो हदसम्मको जघन्य अपराधका अभियुक्तको शक्ति नेपाल प्रहरी र सरकारलाई नै हल्लाउने होला त ? त्यो पनि पत्याउन सकिन्न । जटिल प्रकारका अपराध अनुसन्धानमा सफलता पाएका र सिमाक्षेत्रका अपराधी विरुद्धको लडाइँ जितेका आइजीपी खनालले निर्मलाका हत्यारासँग हार्नु भनेको नेपाल प्रहरी अपराधीसँग हार्नु हो । 

प्रतिक्रिया दिनुहोस