महिला हिंसा अन्त्य गर्न आमनागरिकलाई जागरूक बनाउन आवश्यक : सभापति देउवा

सफल खबर संवाददाता

शुक्रबार, २५ फागुन २०८०, १५ : ०८
महिला हिंसा अन्त्य गर्न आमनागरिकलाई जागरूक बनाउन आवश्यक : सभापति देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरूक बनाउन आवश्यक रहेकाेमा जोड दिएका छन् ।

एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस दिवसले त्यसमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र सहरदेखि दूर दराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उनले उल्लेख गरे।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै सभापति देउवाले उनीहरूप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि महिला दिदी बहिनीको अझ महत्त्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने विश्वास व्यक्त गर्दै सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस