कैलालीमा स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि तलब

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, ०९ : ०९
कैलालीमा स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि तलब

कैलाली । जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार  महिनादेखि तलबभत्ता पाएका छैनन्। आफूहरूले असोजपछि तलब नपाएको उनीहरूको गुनासो छ।

गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले तलबभत्ता रोकिएपछि गुजारा चलाउन मुस्किल भएको बताए। ‘समयमा पैसा नआउँदा घर-व्यवहार चलाउन मुस्किल भएको छ। बैंकको ब्याजसमेत तिर्न सकिएको छैन’, उनले भने।

संघीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले बजेटको अभाव देखाउँदै रोकिदिएको छ। संघीय सरकारबाट आर्थिक वर्षको सुरुमै आउनुपर्ने पर्याप्त बजेट नआएपछि समस्या भएको गाउँपालिकाले जनाएको छ। 

संघीय तहबाट आउनुपर्ने बजेट समयमा आउन नसकेका कारण समस्या देखिएको गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिए। ‘गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि वार्षिक रु तीन करोडभन्दा बढी बजेट चाहिन्छ। यो वर्ष एक करोड १४ लाख बजेट मात्रै आउँदा त्यस बजेटले असोजसम्मलाई भयो’, उनले भने, ‘अन्य शीर्षकबाट पनि खर्च गर्न नपाइने भएपछि कार्यरत स्वास्थ्यकर्मीको चार महिनाको तलब रकम भुक्तानी गर्न सकिएको छैन।’

हाल गाउँपालिकामा संघीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका ४९ स्वास्थ्यकर्मी कार्यरत छन्। स्थानीय तहले करार तथा ज्यालादारीमा व्यवस्थापन गरिएका अन्य कर्मचारीले भने नियमित तलबभत्ता पाइरहेका छन्। ‘मन्त्रालयबाट तलबभत्ता शीर्षकमा आएको रकम तीन महिनामा सकिएपछि बाँकी आउने रकम समयमा नआउँदा समस्या आएको हो’ स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले भने, ‘हामीले गाउँपालिकाबाट मन्त्रालयलाई ताकेता गर्दै आएका छौँ। स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई रकमका लागि आग्रह गरिसकेको भन्ने आएको छ, आशा गरौँ तलब आउँछ।’

गाउँपालिकाले पटक–पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वास्थ्यकर्मीको तलबभत्ताका लागि लिखित तथा मौखिक आग्रह गर्दै आएको गाउँपालिकाका अध्यक्ष गणेश चौधरी बताए। ‘हामीले हाम्रो तर्फबाट गर्ने प्रयास गरिरहेका छौँ। मन्त्रालयले जतिसक्दो चाँडो कर्मचारीको तलबभत्ता व्यवस्थापन गरोस् भन्ने हो’, उनले भने।

गत वर्ष यस्तै समस्या भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा पनि देखिएको थियो। संघबाट समायोजन भएर स्थानीय तहमा  कार्यरत स्वास्थ्यकर्मीको तलबभत्ता नआएपछि स्वास्थ्यकर्मीले आन्दोलन गरेका थिए। त्यसपछि केही महिनाको तलब स्थानीय तहले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस