वार्ता निष्कर्षविहीन, आन्दोलनलाई थप सशक्त बनाउँदै मिटरब्याज पीडित

सफल खबर संवाददाता

विहीबार, १७ फागुन २०८०, ११ : ४७
वार्ता निष्कर्षविहीन, आन्दोलनलाई थप सशक्त बनाउँदै मिटरब्याज पीडित

काठमाडौँ । मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन्।  सरकारसँगको तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका हुन्।

यद्यपि आन्दोलनको बिच सरकारसँगको वार्तालाई भने निरन्तरता दिने उनीहरूको भनाई छ। विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूसँग सरकारले वार्ता गर्दै आएको छ । तर, वार्ता कुनै निष्कर्षमा पुग्न सकेको छैन।

सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त बनाएर अघि बढ्ने मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुश्वाहले बताए। ‘मिटरब्याजविरुद्ध न्याय मार्च’ गर्दै काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले ६ बुँदे माग अघि सारेर माघ १६ गतेदेखि आन्दोलन गर्दै आएका छन्।

गृह मन्त्रालयले गठन गरेको वार्ता समिति र पीडितहरूबिच तीन पटक वार्ता भइसकेकाे छ । तर वार्ता निष्कर्षमा पुग्न नसकेको अध्यक्ष कुश्वाहले बताए।  मिटर ब्याज अपराधबाट सिर्जित समस्यालाई समाधान गर्न अघि सारेका ६ बुँदे मागप्रति सरकारले नजरअन्दाज गरेको उनको आरोप छ।

सरकारले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन गरेको थियो । त्यसले गरेको काम कारबाही अपूर्ण एवम् विफल भएको पीडितहरूको भनाइ छ। आन्दोलनका कार्यक्रम अन्तर्गत आज उनीहरूले ‘सिट्ठी जुलुससहित बालुवाटार मार्च’ को आयोजना गरेका छन्।  मार्चपास भृकुटीमण्डपबाट सुरु भई पुतलीसडक, डिल्लीबजारबाट कमलपोखरी, टंगाल हुँदै बालुवाटार र सोही रुट फिर्ता हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस