वृद्धाश्रमका आमाहरु भन्छन्–फेरि किन फर्केर आयौ तीज ?

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०७५, ११ : ५७
वृद्धाश्रमका आमाहरु भन्छन्–फेरि किन फर्केर आयौ तीज ?

चितवन । आज तीज । वर्सेनि फर्कीफर्की आउँछ । माइत गएर खुसी साटासाट गर्न पाउने चेलीहरुलाई तीज फर्केर आइरहेकै राम्रो हुने भयो । तर देवघाटको वृद्धाश्रममा रहेका आमाहरुलाई लाग्छ, फेरि किन फर्कीफर्की आइरहेको छ
तीज ? 

उमेर हुँदासम्म घरमाइत गर्दै छमछमी नाचेर तीज मनाइरहेका कति चेलीहरु आज विभिन्न कारणले वृद्धाश्रममा रात गुजारी रहेका छन् । ती उहिलेका तीजका दिनहरु आज उनीहरुको मानसपटलमा नाचिरहेको छ । तर के गर्नु अब उसबेलाका तीजका दिनहरु सम्झेर आँसुमा डुबुल्की मार्दै वृद्धाश्रममा दिनरात धकेल्दै बसेका आमाहरुलाई तीज फर्केर आइरहेको दुखेसो छ । 

झोलाभरि कोसेली बोकेर माइत गएको क्षण, माइतीको आँगनीमा कम्मर भाँचेको क्षण, दर खाएर बुर्लक्क उफ्रीउफ्री नाचेको क्षणले आज वृद्धाश्रमका आमाहरुलाई आँसुमा नै डुबाइरहेको छ । उनीहरु विगत सम्झदै भन्छन्, ‘तीज तिमी फेरि किन आयौ ? हामीलाई रुवाउन आयौ, नआएकै राम्रो हुने थियो, तर आइहाल्यौ धेरै आँसुमा नडुबाई जाऊ ।’ 

देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाज कल्याण केन्द्रको वृद्धाश्रममा हाल १९ वृद्धाआमाहरु रहेका छन् । उनीहरुको लागि तीज कुनै रंग छैन, कुनै खुसी छैन, छ त केवल परिवारको सम्झना । विगतको तीजको सम्झना ।

स्याङजाबाट ६ वर्षअघि वृद्धश्रममा आएकी ८६ वर्षीया चन्द्रकला मरासिनीलाई दिदीबहिनीले तीजमा बोलाएका त हुन् तर उनी जान मानिनन् । १७ वर्षकी हुँदा श्रीमान् बितेपछि तीज उनको लागि खुसी मेट्ने चाड बन्यो । सासु ससुरा भइन्जेलसम्म उनी घरमै बसिन्, सासु ससुरा निधनपछि उनको आश्रयस्थल देवघाटको वृद्धश्रम बन्यो । भन्छिन्, ‘मेरो खुसी निमोठ्ने तीज किन आयो ? फर्केर छिटो जाऊ ।

८६ वर्षीया सुभद्रा पुडासैनीलाई पनि तीज नआएकै जाति लाग्छ । विगत १५ वर्षदेखि आश्रममा बस्दै आएकी पुडासैनी तीजको गीत गाएर नाचगान गरेको सम्झनाले उनलाई सताइरहेको छ । छोरोको निधनपछि पारिवारिक टोकेसो सहन नसकेर वृद्धाश्रममा आएकी हेटौडाकी पुडासैनी श्रीमान्ले अर्की श्रीमती ल्याएपछि घरबाट निकालिएको हुन् । उनको लागि आजको तीज बैराग लागेको छ । भन्छिन्, ‘सम्झन पनि चाहन्नँ, उसबेलाका तीज, माइतीका आँगन ।’ 

पन्ध्र वर्षअघि श्रीमान्को निधनसँगै घरबाट निकालिएकी सिन्धुलीको ८५ वर्षकी आमा लक्ष्मीमाया श्रेष्ठलाई हिजोआज चाडपर्व भनेपछि दिक्क लाग्छ । घरबाट आफूलाई दिइएको समस्याका कारण उनी वृद्धाश्रमको सहारामा आइपुगेकी हुन् । ‘चाडपर्व भनेपछि सम्झना आउँछ, तर तीजजस्ता चाड हाम्रा लागि नआएकै राम्रो ।’ 

वृद्धाश्रममा रहेका धैरै आमाहरुले तीज नआएकै जाति माने । उनीहरु भन्छन्, ‘विगतको सम्झना गरेर आगतलाई किन डुबाउनुछ, चाडबाड नआएकै राम्रो लाग्छ ।’
विसं २०५२ मा खोलिएको सो केन्द्रमा वेसहारा वृद्धवृद्धा राखिँदै आएको छ । केन्द्र हेर्दै आउनुभएका ढकराज कोइरालाले चाडपर्व आएपछि वृद्धाश्रममा रहेका वुबाआमा निकै नरमाइलो मान्ने गरेको बताए ।  देवघाटमै अन्य दुई वृद्धाश्रम पनि सञ्चालनमा छन् । रोटरी करुणालय र एनआरएन वृद्धाश्रममा मासिक शुल्क तिरेर वृद्धवृद्धा राख्ने गरिएको छ । ती दुई वृद्धाश्रममा गरी ७० वृद्धवृद्धा छन् ।


 

प्रतिक्रिया दिनुहोस