वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु , सुरक्षा व्यवस्था कडा

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, १९ : २२
वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु , सुरक्षा व्यवस्था कडा

वीरगन्ज । वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि कर्फ्यु लागेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । दुई समुदायबिच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले  कर्फ्यु आदेश जारी गरेपछि सुरक्षा व्यवस्था कडा गरिएको हो ।  

वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । प्रशासनले  कर्फ्यु आदेश पालना गराउनका लागि नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी एक हजार प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगन्ज महानगरको पावरहाउस, मुर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान, आदर्शनगर, भन्सार एरिया लगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए । 

उनले भने,‘अहिले वीरगन्जको अवस्था तनाव ग्रस्त छ, त्यही भएर  कर्फ्यु लगाइयो । हामीले थप मद्दतका लागि अन्य जिल्लाबाट पनि प्रहरी मगाएका छौँ, बागमती प्रदेशबाट पनि थप मद्दतमा प्रहरी आउँदै छ । शान्ति सुरक्षाभंग हुन नदिन पुरै सतर्कता अपनाइन्छ ।’

साँझ ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका अनिश्चितकालीन  कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम  कर्फ्यु आदेश जारी गरेको जनाए । 

प्रतिक्रिया दिनुहोस