कांग्रेस महासमिति बैठक

चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्नु उचित हुँदैन : सभापति देउवा

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, १६ : १२
चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्नु उचित हुँदैन : सभापति देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनमा दृढ रहेको बताएका छन् । सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधानको उचित कार्यान्वयनबाट मात्रै मुलुकमा सुशासन, विकास र शान्ति कायम हुनसक्ने बताए ।

‘संविधान जनताको आशा र भरोसाको विषय बन्नुपर्छ । संविधान कार्यान्वयनका सवालमा देखिएका अस्पष्टता पहिचान गर्नुपर्छ’, सभापति देउवाले भने, ‘शासकीय स्वरूपको मूलभूत विषयमा प्रतिकुल प्रभाव नपर्ने गरी संविधान संशोधनका लागि छलफल प्रारम्भ गर्नुपर्छ ।’ 

उनले अन्तरिम संविधानदेखि अहिलेसम्मको संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । उनले कांग्रेस लोकतान्त्रिक मान्यताबाट निर्देशित हुने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानले सुनिश्चित गरेकाले संविधानको सार्थक कार्यान्वयन कांग्रेसको मुख्य एजेन्डा भएको बताए । 
सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने प्रयास भएकाले संविधानको रक्षाका लागि वर्तमान गठबन्धन र सरकार बनेको देउवाको भनाइ छ । उनले संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएको र यसका गुण र दोष दुवै रहेकाले यस प्रणाली अन्तर्गत कुनै एक पार्टीले बहुमत ल्याउन असम्भव जस्तै रहेको बताए । 

आगामी निर्वाचनमा चुनाव अघि गठबन्धन गर्ने नगर्ने भन्ने कुरा त्यसैवेला निर्णय गर्ने भन्दै देउवाले आफ्नो पार्टी सङ्गठनात्मक रूपमा बलियो र जनताले भरोस र विश्वास गरेको पार्टी भएकाले जनताको भरोसा खण्डित गर्न दिन नहुने बताए ।

१४ औँ महाधिवेशनपछि कांग्रेसको महासमिति बैठक बसेको हो । पार्टीका नीतिगत दस्ताबेजमा छलफल गर्ने उद्देश्यले महासमिति बैठक बोलाइएको हो । जसमा विभिन्न दस्ताबेज पेस हुनेछन् ती दस्ताबेजहरूमा छलफल गरेर परिमार्जनसहित पास गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस