क्यानडामा निधन भएका दुई नेपालीको सनाखत

सफल खबर संवाददाता

विहीबार, ०३ फागुन २०८०, ०८ : २४
क्यानडामा निधन भएका दुई नेपालीको सनाखत

काठमाडौ । क्यानाडाको अन्टारियोमा भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको सनाखत भएको छ । 

दुर्घटनामा परेर मृत्यु हुनेमा सिन्धुपाल्चोकका सुशील भट्टराई र गुल्मीकी पासाङ डोमा शेर्पा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानाडाको लण्डन क्षेत्रका संयोजक कुबेर बुर्लाकोटीले जानकारी दिए । 

स्टाडफोर्ड, अन्टारियोको एक मोटर पार्टस् निर्माण गर्ने कम्पनीमा बिहानको सिफ्टमा काम गर्न जाँदै गरेका उनीहरू दुर्घटनामा परेका थिए ।

दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । जसमा कार चालक मधु थापा, हिरामणि गौतम, जुना लामा लगायत घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

अन्टारियो प्रान्तको दक्षिणपश्चिमी शहर लण्डनमा तीनवटा कार आपसमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस