मृतक नेपालीको परिवारलाई क्षतिपूर्ति दिन रुस तयार

पत्रपत्रिकाबाट

विहीबार, ०३ फागुन २०८०, ०८ : ०९
मृतक नेपालीको परिवारलाई क्षतिपूर्ति दिन रुस तयार

काठमाडौं । रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । रुसले यसअघि क्षतिपूर्ति दिने तर आफन्त रुस नै जानुपर्ने भनेको थियो । अब भने रुस नेपालतर्फ नरम देखिएको छ ।

नेपालले निरन्तर दबाब दिएपछि रुसले क्षतिपूर्ति रकम नेपालमै पठाउने निर्णय गरेको हो । ‘रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई उपलब्ध गराउनुपर्ने क्षतिपूर्ति रकम नेपालमै पठाउन रुस सहमत भएको छ, रुसले सो रकम नेपाली दूतावासलाई उपलब्ध गराउने छ, त्यसपछि दूतावासले नेपाल पठाउनेछ,’ मस्कोस्थित नेपाली दूतावास स्रोतले जनायो । रुस र युक्रेन युद्धका क्रममा कम्तीमा १४ जना नेपालीको ज्यान गइसकेको छ भने ५० भन्दा बढी घाइते भएका छन् । यद्यपि, रुसले युद्धमा भएको क्षतिकाबारेमा एकिन तथ्यांक दिएको छैन । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस