साढे सात किलो काँचो सुन र ६२ लाख नगदसहित एक भारतीय पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, १४ : ४७
साढे सात किलो काँचो सुन र ६२ लाख नगदसहित एक भारतीय पक्राउ

‍‍‍‍‍कास्की । सात किलो ७८१ ग्राम काँचो सुनसहित प्रहरीले पोखराबाट एक जना भारतीयलाई पक्राउ गरेको छ। भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरा महानगरपालिका-२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिकलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो।

उनको ज्वेलर्सबाट स्रोत नखुलेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम, चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रुपैयाँ बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भौमिकले सञ्चालन गरेको उक्त ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको उक्त गहना र नगदसहित उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस