घडियाल काव्य उत्सव : काव्यमार्फत प्रकृति संरक्षणको मुद्दामा छलफल

रासस

सोमबार, २९ माघ २०८०, १३ : ०३
घडियाल काव्य उत्सव : काव्यमार्फत प्रकृति संरक्षणको मुद्दामा छलफल

शाश्वतधाम । तेस्रो संस्करणको घडियाल काव्य उत्सवको पहिलो दिन माघ २८ गते आइतबार ४ वटा विषयमा छलफल भएका छन् । शाश्वतधाममा गरिएको कार्यक्रमलाई गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका हुन् । घडियाल काव्य उत्सवले लोपोन्मुख घडियाल गोहीको संरक्षणसँगै प्रकृति संरक्षण एवम् यस क्षेत्रको पर्यटन र साहित्यको प्रबर्द्धनमा टेवा पुग्ने उनले बताए ।

उद्घाटनपछि विभिन्न शीर्षकमा छलफल भएका छन् । पहिलो सत्रमा `नवलपुरमा पर्यटन : हिजो, आज र भोलि´ शीर्षकमा छलफल भएको छ । यो सत्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका सचिव डाक्टर रामचन्द्र कँडेल र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेसँग पत्रकार विद्रोही गिरीले छलफल गरेका हुन् । नवलपुर क्षेत्र नारायणी किनार र चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको हुनाले यस क्षेत्रलाई प्रचारप्रसार गर्न सके चितवनको सौराहाभन्दा आकर्षक गन्तव्य गराउन सकिने विचार राखेका छन् ।

त्यस्तै दोस्रो सत्र अन्तर्गत `पृथ्वीका अन्तिम डायनासोर घडियाल´ शीर्षकमा शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे र डब्लुडब्लुएफ नेपालका स्वच्छ जल कार्यक्रम अधिकृत करुण देवानसँग नेचर फोटोग्राफर सुवास अनिर्जित बस्ताकोटीले संवाद गरे । घडियाल संरक्षणको लागि सबैभन्दा पहिला पानीलाई फोहोर गर्न नहुने वक्ताहरूले बताए । उद्योग कलकारखानाले फाल्ने फोहोर पानीलाई सोझै नदीनालामा मिसाउनु मानवीय गल्ती भएको उनीहरूको निष्कर्ष थियो ।

त्यस्तै तेस्रो कार्यक्रमका रूपमा `मौलाकालिकादेखि त्रिवेणी : सानो जिल्लाको विराटता´ शीर्षकमा त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका अध्यक्ष झपेन्द्रश्वर भुसाल र धार्मिक सेवा समिति, मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटासँग पत्रकार रमेश बस्ताकोटीले संवाद गरे । जिल्लामा थुप्रै पर्यटकीय स्थान भए पनि त्यसलाई स्तरोन्नति गरी ल्याउन नसकिएको वक्ताहरुले बताए । संघीय सरकार, स्थानीय सरकार, राजनीतिक दल र पत्रकार सबैले समन्वयकारी भूमिका खेल्न सके नवलपरासीको पर्यटनलाई माथि उठाउन सकिने छलफलको निष्कर्ष थियो । पहिलो दिनको अन्तिम कार्यक्रमका रूपमा `प्रकृति, पर्यटन र साहित्य´ शीर्षकमा छलफल गरिएको छ । यो सत्रमा लेखक अमर न्यौपाने र ददि सापकोटासँग पत्रकार सूर्यप्रकाश कँडेलले संवाद गरेका हुन् । लेखनका माध्यमबाट स्थान विशेषको चर्चा हुने र पाठकले त्यसलाई पछ्याउँदै आउने अमर न्यौपानेले बताए । मदन पुरस्कार प्राप्त आफ्नो कृति `सेतो धरती´ पढेर स्वदेश र बिदेशबाट पनि मानिसहरू देवघाट आएको सन्दर्भ उनले सुनाए । अर्का वक्ता ददि सापकोटाले प्रकृतिमा रहेर जीवजन्तू तथा चराचुरुङ्गीलाई संरक्षण गरे मात्रै पर्यटनलाई बचाउन सकिने बताए । सापकोटाले जीवजन्तूको आनीबानी र महत्त्व बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस