कविता : प्रिय ऐना

सोमबार, २५ भदौ २०७५, १२ : ३९
कविता : प्रिय ऐना

- डा. सबिता सुबेदी

प्रिय ऐना,

तिमी मित्र  बनिदेउ |

जब राता गाला ,गाजलु आँखा , कालो घना केस

लिएर तिमीलाई दैनिक हजार पटक भेटिरहेकी म

तिमीलाई सच्चा मित्र ठानेर मुस्कुराउँदै

भलाकुसारी पनि गरेकी म

आज मुजा परेका पिडादा अनुहार, कलेठी परेका ओठ

सेता अस्तव्यस्त  गन्न मिल्ने केस, सबैसबैले अताइरहेका बेला

चुस्त दुरुस्त उतारेर मित्र बन्न खोज्ने तिमीलाइ

यो पुरानी मित्रले बिन्ति गर्दैछे |

प्रिय ऐना उल्टो  देखाइदेउ |

 

म जिउन चाहन्छु

हेर त बेस्सरी आत्तिएकी पनि छु

तिमीसंग टाढा टाढा पनि भागीरहेकी छु

मेरा फुसृएका धमिला आँखा तिम्रो अगाडी उभिदा

तर्सिएकी म

तिमीलाई हेर्दा पनि झिजो लागेर

कयौ पटक  तिमीलाई उल्टाएर

हेर्दिन भन्दै घुर्काएकि म

तिमीसंग झुटको  आशामा  कुरिरहेकी म

आज आएर तिमीलाइ नै सत्रु मानिरहेको बेला

सधै सत्यको पक्ष लिने अठोट त्याग्न  बिन्ति  तिमीलाइ

म कुनै अध्यारो कुनाबाट गुहारिरहेकी छु

प्रिय ऐना

तिमी मित्र  बनिदेउ |

(चितवन, नेपाल )

प्रतिक्रिया दिनुहोस