विनोद चौधरीविरुद्ध मोहन बैद्यनिकट विद्यार्थीको प्रदर्शन, तत्काल गिरफ्तार गर्न माग

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, १५ : ५१
विनोद चौधरीविरुद्ध मोहन बैद्यनिकट विद्यार्थीको प्रदर्शन, तत्काल गिरफ्तार गर्न माग

काठमाडौं। मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले चौधरी समूहले बाँसबारी छाला जुत्ता कारखानाबाट गैर-कानूनी रूपमा हडपेको १० रोपनी जग्गामा संचालित सीजी चाँदबाग स्कूललाई राष्ट्रियकरण गर्न माग गरेको छ ।

बिहीवार चाँदबाग स्कूल नजिकै प्रदर्शन गर्दै उक्त स्कूल र सीजी ग्रुपलाई तत्काल राष्ट्रियकरण गर्न माग गरेको हो । साथै ग्रुपका अध्यक्ष बिनोद चौधरीलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ ।

'कौडीको मूल्यमा यो जग्गा विनोद चौधरीलाई कसरी बेचियो, उनी रातारात धनी कसरी भए ?' प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका बागमती प्रदेश संयोजक उषाकिरण आजादले प्रश्न गरे, 'एउटा प्रहरीको जवानले हाम्रो प्रदर्शनमा हस्तक्षेप गर्छ, हामीलाई भाटा हान्छ के त्यो प्रहरीको छोराछोरी चाँदबाग स्कूलमा पढ्न सक्छन् ?'

उनले बिनोद चौधरीलाई सरकारले गिरफ्तार नगरे आफ्नो संगठनले गिरफ्तार गरेर कारवाही गर्ने चेतावनीसमेत दिए ।उनले विनोद चौधरीले जबर्जस्ती हडपेको जग्गा फिर्ता गर्न 'अकुपाई चाँदबाग'को अभियान चलाइएकोसमेत बताए ।

उक्त प्रदर्शनमा सहभागी अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक बिरेन्द्र शाहले चौधरीलाई जनकारवाहीसमेत गर्न आफूहरू तयार रहेको बताए ।

'अरुण चौधरीलाई होइन, विनोद चौधरीलाई गिरफ्तार गर्नुपर्छ,' उनले भने, 'पहिलो चरणमा हामीले संघर्ष गर्ने र प्रचारात्मक कार्यक्रम गर्छौं । त्यसपछि पनि जग्गा फिर्ता भएर विनोद चौधरीलाई कारवाही गरिएन भने दोस्रो चरणमा जनकारवाही पनि हुन सक्छ । त्यो भन्दा बढी नबोलौं ।'

प्रतिक्रिया दिनुहोस