लुम्बिनी प्रदेशका क्यान्सर बिरामीलाई सिएमसीमा दुई लाखको निःशुल्क सुविधा

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १५ : २४
लुम्बिनी प्रदेशका क्यान्सर बिरामीलाई सिएमसीमा दुई लाखको निःशुल्क सुविधा

चितवन । लुम्बिनी प्रदेशका क्यान्सर बिरामीले चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा उपचार गर्दा थप दुई लाखको निःशुल्क सुविधा पाउने भएका छन् । चितवन मेडिकल कलेज र लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयबीच यस सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा निर्देशनालयका निर्देशक डा। विनोदकुमार गिरी र अस्पतालको तर्फबाट बरिष्ठ व्यवस्थापक पारस अधिकारीले हस्ताक्षर गरेका छन ।सम्झौता अनुसार लुम्बिनी प्रदेशका वासिन्दाले चितवन मेडिकल कलेजमा क्यान्सरको उपचार गर्दा दुई लाख रुपैयाँ बराबरको निःशुल्क सुविधा पाउने छन् । बिरामीको उपचारको सोधभर्ना निर्देशनालयले दिने अधिकारीले बताए ।

प्रदेशले ‘प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा प्रमाणपत्र’ उपलब्ध गराउने छ । सोही प्रमाणपत्रका आधारमा सिएमसीले दुई लाख बराबरको निःशुल्क सुविधा दिने छ ।अस्पतालका सामाजिक सुरक्षा ईकाईका अमृत काफ्का अनुसार क्यान्सरका बिरामीले संघीय सरकारबाट रु। एक लाख बराबरको निःशुल्क सुविधा पाउने छन् भने लुम्बिनीका बिरामीले संघीय र प्रदेशका गरी तीन लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सुविधा पाउने छन् ।

यस अघि बागमती प्रदेश सरकारले प्रदेशका बिरामीले रु।५० हजार बराबरको निःशुल्क सुविधा दिईसकेको काफ्लेले जानकारी दिए। यससँगै बागमती प्रदेशका बिरामी एक लाख ५० हजार बराबरको निःशुल्क उपचार सुविधा पाउनेछन् भने लुम्बिनीका बिरामीले तीन लाख बराबरको पाउने उनको भनाई छ ।

चितवन मेडिकल कलेजले एक सय शैयाको सुविधासम्पन्न सिएमसी क्यान्सर इन्स्टिच्यूट सञ्चालन गरेको छ । आधुनिक उपकरण र दक्ष जनशक्ति सहित सञ्चालित उक्त इन्स्टिच्युटमा बिरामीले सहज रुपमा क्यान्सरको उपचार पाउँदै आएका छन् ।  अस्पतालमा नेपाल सरकारले तोकेकै शुल्कमा क्यान्सरका सबै खाले उपचार हुने गरेको काफ्को भनाई छ ।

चितवन मेडिकल कलेजले विगत १० वर्षदेखि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भएको सम्झौता अनुसार विपन्न नागरिक उपचार सेवा अन्तर्गत आठ वटा कडा रोगको उपचारमा एक लाख बराबरको निःशुल्क उपचार सेवा दिंदै आएको छ । क्यान्सर सहित हेड इन्जुरी, स्पाईनल इन्जुरी, मुटु रोग, अल्जाईमर, पार्किन्सन, डाइलासिस लगायतका उपचारमा बिरामीले एक लाख बराबरको निःशुल्क उपचार सेवा पाउँदै आएको अस्पतालले जनाएको छ ।