निर्मला हत्या प्रकरण : सरकार भन्छ, ‘हत्यारा खोजिछाड्छौँ’, त्यसो भए दिलीप विष्ट को हुन् ?

पत्रपत्रिकाबाट

सोमबार, २५ भदौ २०७५, ०७ : ५१
निर्मला हत्या प्रकरण : सरकार भन्छ, ‘हत्यारा खोजिछाड्छौँ’, त्यसो भए दिलीप विष्ट को हुन् ?

राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा सहभागिताका लागि बिहीबार महेन्द्रनगर आइपुगेका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले शुक्रबार बिहान गत १० साउनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका मातापिता दुर्गादेवी र यज्ञराजलाई भेटे ।

‘प्रहरीको सुरुवाती भूमिकाप्रति तपाईंहरूको असन्तुष्टि देखिएपछि नयाँ अनुसन्धान टोली बनाएर काम भइरहेको छ । नयाँ टोलीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ । निर्मलालाई बलात्कार गरी हत्या गर्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कानुनी दायरामा ल्याइन्छ । उसलाई छाडिन्न,’ भेटमा के कुरा भन्नुभयो भन्ने प्रश्नको जवाफमा आइजिपी खनालले भने ।

त्यसपछि उनलाई सोधियो, ‘त्यसो भए मुख्य अभियुक्त भन्दै गत ४ भदौमा पक्राउ गरिएका दिलीपसिंह विष्टचाहिँ को हुन् ? के उनी अवास्तविक र छद्म अभियुक्त हुन् ?’ जवाफमा आइजिपी खनालले भने, ‘अनुसन्धानका क्रममा शंकाको घेरामा आएका मानिसहरूलाई गिरफ्तार गरी सोधपुछ गरिन्छ । दिलीपमाथि पनि कानुनसम्मत ढंगले अदालतबाट म्याद लिएर सोधपुछ भइरहेको छ ।’
आयोगको कार्यक्रममा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले झन् चर्को स्वरमा भने, ‘निर्मलाका अपराधी अन्तरिक्षमै भए पनि पक्राउ गर्छौँ ।’ स्थानीय र पीडित परिवारको आशंका तत्कालीन प्रहरी नेतृत्वप्रति रहिरहेको बुझेका आइजिपी खनालले सोही कार्यक्रममा भने, ‘एसपी हुँदा नै डिएसपीलाई बाँकी नराखेको मान्छे हुँ । यस घटनामा कुनै प्रहरी कर्मचारी दोषी देखिए एसपी त के, एआइजीसम्मलाई छाडिन्न ।’

कानुनमन्त्री शाहले नयाँ पत्रिकासँग भने, ‘अपराधी जुनसुकै शक्ति, सत्ता र पदको भए पनि पक्राउ गरिछाड्छौँ भनेको हुँ । पृथ्वी छाडेर ब्ल्याक होलमा गएको भए पनि वा समुद्रमुनि भए पनि अपराधी उम्कनेछैन ।’ अपराधी अर्कै भए दिलीपलाई चाहिँ किन पक्रिएको भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘छानबिन समितिको अनुसन्धान अन्तिम मोडमा छ । दुई–चार दिन पर्खनुस्, दूधको दूध, पानीको पानी हुन्छ ।’

अभियुक्तबारे प्रशासन नै अलमलमा
निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले पछिल्लोपटक बागफाँटानिवासी मानसिक सन्तुलन ठीक नरहेका ४१ वर्षे दिलीपलाई पक्राउ गरेको छ । स्वास्थ्य स्थिति जाँचका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पु-याइएका उनलाई शुक्रबार महेन्द्रनगर ल्याई आइतबार जिल्ला अदालतबाट चार दिन म्याद थपेर हिरासतमै राखिएको छ । अदालत स्रोतका अनुसार आइतबार जिल्ला अदालतमा खोलिएको दिलीपको सिलबन्द स्वास्थ्य परीक्षण प्रतिवेदनमा उनको मानसिक सन्तुलन ठीक छ वा छैन यकिन साथ भन्न नसकिने उल्लेख छ ।

तर, आइजिपीदेखि प्रदेशका आन्तरिक मामिलामन्त्रीसम्म भनिरहेका छन्, ‘वास्तविक अपराधी पक्राउ गरेरै छाड्छौँ, अन्तरिक्षमा भए पनि छाड्दैनौँ ।’ उता गोरखामा शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्र सरकारका गृहमन्त्री रामबहादुर थापाले पनि छानबिन समितिले काम गरिरहेकाले छिटै हत्यारा पत्ता लाग्ने बताए ।

किनकि यसअघि पनि प्रहरीले यस घटनामा चारजना निर्दोषलाई पक्राउ गरी छाडिसकेको छ । यीमध्ये केहीलाई त गैरकानुनी हिरासतमा राखी चरम यातनासमेत दिएको छ । निर्मलाको शव फेला परेकै दिन ११ साउनमा प्रहरीले मानसिक सन्तुलन ठीक नभएका जीवन घर्तीमगर र एचआइभी संक्रमण तथा गम्भीर प्रकृतिको यौनरोग लागेका दीपक नेगीलाई पक्राउ गरेको थियो । त्यसको एक सातापछि १८ साउनमा १७ वर्षे किशोरीलाई गिरफ्तार गरी पाँच दिनसम्म गैरकानुनी दिवा हिरासतमा राखी यातना दिएको थियो । प्रमाण नपुगेपछि उनलाई छाडिएको थियो ।

२१ साउनमा घटनास्थलनजिकै घर भएका चक्रदेव बडूलाई निर्मला बलात्कार र हत्या अभियोगमा पक्राउ ग¥यो । चार दिनसम्म त आफन्तलाई समेत भेट्न दिएन । बलात्कार र हत्या अभियोगमा प्रमाण नपुगेपछि उनलाई ११ दिनपछि प्रहरीलाई गालीगलौज गरेको झुटो मुद्दा लगाएर पाँच हजार धरौटीमा छाड्यो । अपराधी पक्रन असमर्थ भएको भन्दै दिनहुँ प्रहरीविरुद्ध प्रदर्शन भइरहेको थियो । पछिल्लोपटक ३ भदौको साँझ ८ बजे दिलीपलाई पक्राउ गरी ४ गते पत्रकारमाझ सार्वजनिक ग-यो । यसबाहेक पनि प्रहरीले करिब सयजनालाई जिप्रका बोलाएर सोधपुछ गरिसकेको छ ।

‘बलात्कार र कर्तव्य ज्यान मुद्दामा जेलबाट छुटेका अपराधीको सूची तयार गरी निजहरूको खोजतलास तथा सोधपुछ गरिरहेकोमा अभियुक्त दिलीपसिंह विष्टसमेतको खोजी गर्दै जाँदा मिति ०७५ भदौ ३ गते अन्दाजी साँझको ८ बजेको समयमा उक्त घटनास्थलमा साइकल भेटिएको स्थानबाट करिब ५० मिटर पश्चिमतर्फ सडक किनारामा हातमा लाठी लिई उभिइरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सादा पोसाकमा खटिएका प्रहरीले फेला पारी नियन्त्रणमा लिइएको’ दिलीपको पक्राउसम्बन्धी प्रहरीको विवरणमा उल्लेख छ ।

यसबाहेक दिलीपलाई दोषी ठहर गर्ने प्रहरीसँग थप प्रमाण छैन । ‘अब डिएनए परीक्षण रिपोर्ट नै पर्खनुपर्ने हुन्छ । दिलीपबारे थप प्रमाण फेला परेका छैनन्,’ जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले भने । दिलीपले अदालतमा दिएको प्रारम्भिक बयानमा आफूलाई प्रहरीले दुईवटा कुर्सीको बीचमा च्यापी बन्दुकको टुप्पोले घोचेर अपराध सकार्न लगाएको बताएका छन् । ‘मेरो कुनै गल्ती छैन, मैले कुनै अपराध गरेको छैन । प्रहरीले पक्रेर ल्याएपछि बन्दुकको टुप्पाले मेरो जीउमा घोचेर घटना सकार्न लगाएका हुन् । प्रहरीले मैले निर्मलालाई सडकबाट उठाएर पारि लगी सम्भोग गरेको र घाँटी थिचेर मारेको हो भनी कबोल गर भनिरहेका छन् । म निर्दोष छु,’ दिलीपले अदालतसमक्ष भनेका थिए ।

निर्मलाको साइकलको रहस्य
प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् । धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् । उनकी देउरानीका ६ वर्षे छोरा सन्दीप पनि पछि लागेर गएका थिए । करिब ४ देखि साढे ४ बजेतिर सन्दीपले घटनास्थलनजिकैको नहरमा साइकल देखेको बताए ।

त्यसपछि आमा जमुनाले होमवर्क गर्न छाडेर आफूहरूको पछि लागेको भन्दै छोरालाई हप्काइन् । धनाले नहरतिर हेरिन् । ‘साइकल पानीमा डुबेको अवस्थामा थियो, त्यसैले रङ त थाहा भएन । एकापट्टिको हेन्डिलको कालो भाग र आधा डुबेको सिटको कालो भागसम्म देखेकी हुँ । कसैले थोत्रो भएर फालेको होला भनेर वास्ता गरिनँ,’ उनले भनिन् ।

भोलिपल्ट निर्मला हराएको खबर सुनेर उनीहरू त्यस स्थानमा पुग्दा एकजना पाका उमेरका मानिस साइकल बाहिर निकालेर पुछ्दै थिए । ती हुन्, साधुराम चौधरी, जो एक स्थानीयको घरमा कामदार छन् । चौधरीका अनुसार उनले पहिलोपल्ट साइकल देख्दा पछाडिको पांग्रा माथिपट्टि उठेको थियो । ‘मैले साइकल तानेर बाहिर ल्याएँ । साइकलको एउटा ह्यान्डलमा एउटा चप्पल सिउरिएको थियो ।

कसैको साइकल खसेको होला, हिलोले बिग्रेला भनेर बाहिर ल्याएर सफा गर्दैगर्दा मानिसहरू आइपुगे,’ उनले भने । चौधरीका अनुसार साइकलको पछाडिको पांग्रा माथिपट्टि उठेको थियो । यस्तोमा साइकलको ह्यान्डल डुबेको अवस्थामा हुनुपथ्र्यो । तर, धनाले भने प्रहरीमा साइकलको एउटा ह्यान्डल पनि देखेको बयान दिएकी छिन् ।

घटनास्थलबारे पनि अन्योल
निर्मलाको शव भेटिएकै ठाउँ घटनास्थल हो कि होइन भन्नेबारे प्रहरी आफैँ अलमलमा छ । साइकल मिलाएर राखिएको अवस्थामा देखिनु, जमिनको अवस्था, खुट्टाको छापहरूबारे प्रमाणमा नखुल्नुले घटनास्थल त्यही हो भनेर किटान गर्न गाह्रो रहेको आइजिपी खनाल पनि स्विकार्छन् । केन्द्रबाट खटिएर गएको नयाँ सिआइबी टोलीका प्रमुख एसएसपी ठाकुरप्रसाद ज्ञवाली पनि घटनास्थलको मुचुल्का र मान्छे आउजाउ भइरहने सडकछेउमै रहेकाले घटनास्थल त्यही हो भनेर किटान गर्न नसकिने बताउँछन् ।

‘घटनास्थल भनिएको ठाउँ एकदम सुनसान स्थल होइन । मान्छे, गाडीहरूको आउजाउ भइरहने ठाउँ हो । त्यस्तोमा दिउँसै त्यस किसिमको घटना हुँदा बटुवाहरूले थाहा पाउनुपर्ने हो । पीडितको तर्फबाट पनि पक्कै प्रतिवाद भएको हुनुपर्छ । तर, घटनास्थलमा जमिन धसिएकोजस्ता प्रमाण फेला परेको छैन । भेटिएको भनेको खुट्टाको एउटा डोबको पनि उचित परीक्षण भएको देखिएन ।

सुरुमै घटनास्थल सिल गरेर उचित अनुसन्धान गरी प्रमाण जुटाउने काम भएको देखिएन,’ एसएसपी ज्ञवालीले भने, ‘अब घटनास्थलबाट थप प्रमाण जुटाएर अनुसन्धान अगाडि बढाउने अवस्था छैन । घटनास्थलमा पुगेकाहरूको बयानहरूको प्राविधिक पक्ष र अन्य तरिकाबाटै अनुसन्धान अगाडि बढाउनुपर्छ ।’

घटना भएको दिन नै साइकल देखेको बताउने धना भण्डारी त्यस दिन घटनास्थलमा कापी र अम्बाको पोको नदेखेको बताउँछिन् । ‘भोलिपल्ट साइकल खोज्दै जाँदा नहरवारिपट्टि मिलाएर राखेको अवस्थामा कापी र एउटा प्लास्टिकको थैलीमा केही अम्बा थिए । अघिल्लो दिन नदेखिएको कापी र अम्बा भोलिपल्ट कसरी आयो ।

फेरि कापीको गाता दोबारिएको थियो । रातभरि पानी पर्दा कापी किन भिजेन ?’ उनले भनिन् । साथै आफूहरू पुग्नुभन्दा अगाडिदेखि नै मानिसहरू त्यस क्षेत्रमा घाँस–दाउरा गरिरहेको उनको भनाइ छ । ‘मान्छे र गाडीहरू पनि सडकमा ओहोरदोहोर गरिरहेका थिए । कसै न कसैले त चाल पाउनुपर्ने हो,’ धनाले भनिन् ।

प्रमाण मेट्ने प्रहरी अनुसन्धानबाहिर
यस घटनामा तत्कालीन एसपी डिल्लीराज विष्टको भूमिकालाई लिएर पीडित परिवार र स्थानीयले सुरुदेखि नै शंका गर्दै आएका छन् । तर, नयाँ छानबिन टोलीले पनि विष्ट, घटनास्थल पुग्ने र अनुसन्धानमा संलग्न प्रहरी अधिकृत तथा कर्मचारीमाथि उचित छानबिन गरेको देखिँदैन । निर्मलाको सुरुवाल पखालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि पीडित परिवार र स्थानीयको आक्रोश चुलिएको छ ।

तर, सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी सावदले मानिसको भिड बढ्दै गएपछि आफूले सुरुवालले निर्मलाको यौनांग छोपिदिएको बताइन् । ‘कसैले अह्राएको होइन । तर, मानिसहरूको भिड बढ्दै गएपछि मैले सुरुवालले निर्मलाको गुतांग छोपिदिएकी हुँ । मलाई त्यसवेला केही हेक्कै भएन, सुरुवाल पखालेको पनि पछि भिडियो हेरेर थाहा पाएँ । मलाई कसैले त्यसो नगर भनेर पनि रोकेन ।’

राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्नेदेखि प्रभावकारी अनुसन्धान गर्नेलगायत कार्यमा सुरुदेखि नै गम्भीर त्रुटि गरेको औँल्याएको छ ।
‘घटनास्थलको संरक्षण, त्यहाँबाट प्रमाण संकलन गर्नेदेखि जघन्य प्रकृतिको यो अपराधको प्रारम्भिक अनुसन्धानमै प्रहरीले लापरबाही गरेको देखिन्छ । त्यो पछिसम्मै निरन्तर रहेको पाइन्छ । बरु उल्टै निर्दोष व्यक्तिहरूलाई यातना दिँदै जबर्जस्ती अपराध सकार्न लगाएर मानवअधिकारको उल्लंघन गरेको देखिन्छ,’ घटनाको स्थलगत अनुगमन गरी महेन्द्रनगरबाट फर्केकी आयुक्त तथा आयोग प्रवक्ता मोहना अन्सारीले भनिन् ।

प्रमाण संकलनको साटो मेटाउनु, अनुसन्धानमा गम्भीर लापरबाही गरिनुजस्ता कारणले तत्कालीन प्रहरी नेतृत्व तथा कर्मचारीमाथि पनि छानबिन आवश्यक थियो । गृह मन्त्रालयले सहसचिव हरि मैनालीको नेतृत्वमा गठन गरेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डिआइजी सम्मिलित छानबिन समितिले पनि यसतर्फ उचित ध्यान दिएको पाइँदैन । समितिले काठमाडौं झिकाइएका निलम्बित एसपी विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर जगदीशप्रसाद भट्टलगायतको बयान लिने चर्चा चलेको छ ।

तर, समितिका सदस्य प्रहरी नायब महानिरीक्षक रामप्रसाद श्रेष्ठ भन्छन्, ‘बयान लिने कुराबारे मलाई थाहा छैन । हामी प्रतिवेदनलाई अन्तिम रूप दिन लागिपरेका छौँ । अबको दुई–तीन दिनमै प्रतिवेदन बुझाउँछौँ ।

अहिले के हुँदै छ अनुसन्धान ?
प्रहरीले दिलीपका साथै निर्मला हराएको घरका दिदीबहिनी बबिता र रोशनी बमलाई पनि पक्राउ गरेको छ । जिल्ला न्यायाधिवक्ता खेमराज भट्टका अनुसार प्रहरीले दिलीपलाई बढीमा २८ भदौसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । उनका अनुसार त्यसपछि प्रहरीसँग तीन विकल्प मात्र बाँकी रहन्छन् । पहिलो, प्रमाण पु-याएर मुद्दा अभियोजन गर्ने । दोस्रो, सरकारी वकिलको कार्यालयको सम्मतिमा पछि फेरि अनुसन्धानका लागि झिकाउन सक्ने गरी धरौटी लिएर तारेखमा छाड्ने । र, तेस्रो प्रमाण जुटाउन नसके रिहा गर्ने ।

दिलीपको हकमा प्रहरीको आशा डिएनए परीक्षण प्रतिवेदनमै टिकेको छ । किनकि, उनलाई दोषी ठहर गर्न सक्ने अन्य ठोस प्रमाण प्रहरीसँग छैन । प्रहरीले निर्मलाको शव परीक्षणका लागि १३ साउनमा नै प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइसकेको छ भने ५ भदौमा दिलीपको रगत पनि डिएनए परीक्षणका लागि पठाएको छ । काठमाडौंमा उपचारकै क्रममा रहेका वेला १३ भदौमा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले पनि दिलीपको डिएनए परीक्षणका लागि रगत लिएको छ । ती सबै रिपोर्ट दुई–तीन दिनभित्र आइपुग्ने एसपी कडायतले बताए । ‘विष्टबारे त्यसपछि मात्रै केही भन्न सकिन्छ,’ उनले भने ।

यता सिआइबीको नयाँ टोलीले फरक ढंगले अनुसन्धान अघि बढाएको छ । घटनास्थलनजिकै एक ठेकेदारको घर छ । जहाँ दिनहुँ ६–७ वटा टिपर, त्यसका चालक, सहचालक र मजदुर रहन्छन् । सिआइबीले उनीहरूसँग पनि सोधपुछ गर्ने र विभिन्न कोणबाट अनुसन्धान गर्ने काम गरिरहेको छ । त्यसबाहेक घटनास्थलनजिकै सेनाको श्री २५ नम्बर बाहिनी गण छ । सिआइबीले यस्ता विभिन्न कोणबाट अनुसन्धान थाले पनि हालसम्म ठोस उपलब्धि हासिल गरेको छैन । यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस