काठमाडौं। तेल अभिभ–प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) सँगको युद्ध पाँचौँ महिना प्रवेश गरेको बेला युद्धविराम सम्झौताका लागि पहल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधवार इजरायल आइपुगेका छन् ।
साउदी अरेबिया, इजिप्ट र कतारपछि मध्यपूर्वको भ्रमणका क्रममा उनले इजरायलमा नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।द्वन्द्वको शुरूमा अस्थायी युद्धविरामको मध्यस्थता गरेको कतारले हमासले युद्ध रोक्नका लागि नयाँ प्रस्तावित सम्झौताको जवाफ दिएको बताएको छ ।
कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले ब्लिन्केनसँग दोहामा भएको भेटपछि भने, ‘जवाफमा केही थप माग समावेश भएपनि यो सकारात्मक छ।’ब्लिन्केनले हमासको जवाफ इजरायलसँग ‘साझा’ भएको र बुधबार त्यहाँ छलफल गर्ने बताएका छन् ।
उनले अझै धेरै काम गर्न बाँकी रहेको तर सम्झौता सम्भव छ र वास्तवमै आवश्यक छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताए ।इजरायली गुप्तचर संस्था मोसादले पनि हमासको जवाफ प्राप्त गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ ।
नेतन्याहूले मङ्गलवार भने, ‘हामी पूर्ण जितको बाटोमा छौं र हामी रोकिने छैनौं ।’इजिप्टसँग जोडिएको गाजाको दक्षिणी सीमामा रहेको राफा शहरतर्फ इजरायली सेनाले आक्रमण गरेपछि युद्धविरामका लागि दबाब बढेको छ ।
संयुक्त राष्ट्रसङ्घीय सहायता समन्वय कार्यालय ओसीएचएका प्रवक्ता जेन्स लार्कले भने, ‘स्पष्ट रूपमा भन्नुपर्दा, यस अवस्थामा राफामा हुने सम्भावित कारबाहीले ठूलो मात्रामा नागरिकको ज्यान लिन सक्छ र यसबाट बच्न हामीले आफ्नो शक्तिले भ्याएसम्म सक्दो प्रयास गर्नुपर्छ ।’
अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणका कारण करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीले इजरायली अधिकारीबाट पुष्टि गरेको तथ्याङ्कले देखाएको छ ।
लडाकूहरूले लगभग २५० बन्धकहरूलाई कब्जामा लिएकोमा गाजामा १३२ जना अझै बाँकी रहेको र कम्तीमा २७ जना मारिएको अनुमान इजरायली स्रोतले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा युद्धविराम गराउने प्रयासमा अमेरिकी विदेशमन्त्री, भेट्दै इजिप्टका नेता