रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन

पत्रपत्रिकाबाट

सोमबार, २२ माघ २०८०, ०८ : २८
रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन

काठमाडौ । रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालबाट रुस गएका नेपालीहरू दुई महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका आफन्तले रुस दूतावासमा परिवारको अवस्था जानकारी मागेका छन् । साथै, आफन्तले रुसमा भर्ती भई सम्पर्कमा रहेका नेपालीहरुसँग पनि सोधखोज गरिरहेका पाइएको छ ।

सरकारले पटक–पटक रुसलाई पत्राचार गरेर नेपालीलाई रुसी सेनामा भर्ना नगर्न आग्रह गरे पनि दैनिकजसो नेपाली सम्पर्कविहीन भएका खबर आइरहेका छन् । विशेषगरी, युद्धमा मोबाइल ‘एल्लो जोन’मा राखेर जाँदा अहिले धेरै नेपाली सम्पर्कविहीन अवस्थामा रहेको रुसी सेनामा कार्यरत नेपाली डायमन्ड सी म्यग्देलीले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका ७० जनाको परिवारले अवस्था पत्ता लगाइदिन आग्रह गरेको बताएका छन् ।

रुस–युक्रनको सीमा नाकामा दैनिकजसो हुने युद्धमा हताहतीको खबर आइरहेका बेला नेपालमा रहेका परिवारका सदस्यले सम्पर्कविहीन भएकाहरूको खोजी गरेका हुन् । हालसम्म आधिकारिक रूपमा नेपालबाट कति नेपाली रुस गएका छन् भन्ने यकिन तथ्यांक नभए पनि ४ हजारबढी नेपाली रुसी सेनामा भर्ती भएको अनुमान गरिएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस