२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा

सफल खबर संवाददाता

आइतबार, २१ माघ २०८०, ११ : ३८
२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणको अन्तिम चरणका कामहरू धमाधम भइरहेका छन् ।

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू राखिएका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सब स्टेसनका उपकरणहरू जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरू निर्माण स्थलमा आपूर्ति भइसकेका छन् ।

उपकरणहरूको जडान धमाधम भइरहेको छ । २२०/१३२ केभी सब स्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ ।

मध्य भोटेकोसीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सब स्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सब स्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ ।

आयोजनाले बाह्रबिसे नगरपालिका– ३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न सकिरहेको छैन । हाल मध्य भोटेकोसी जलविद्युत आयोजनाका संरचनाहरूको निर्माण सम्पन्न गरी परीक्षण भइरहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नु पर्ने दबाबमा प्राधिकरण छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिवार सब स्टेसन निर्माण स्थलको अनुगमन गरी बाँकी कामहरू तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस