गठबन्धन सरकारका गतिविधिले जनता निराश : महासचिव पोखरेल

सफल खबर संवाददाता

शनिबार, २० माघ २०८०, ११ : ४८
गठबन्धन सरकारका गतिविधिले जनता निराश : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले आफ्नो दल सरकारबाट हट्नेबित्तिकै विदेश जाने युवाको संख्या बढेको दाबी गरेका छन्। पार्टीको धादिङ जिल्ला कमिटीको नवौँ अधिवेशन उद्घाटन गर्दै यस्तो दाबी गरेका हुन् ।

अधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले देश जनताले नपत्याएकाहरूले चलाइरहेकाले जनतामा निराशा पैदा भएको बताए । उनले भने,‘आज देशको सबैभन्दा ठुलो र लोकप्रिय मतमा पहिलो राजनीतिक दल नेकपा (एमाले) बाहिर र साना जोडजाड गरेका दल सत्तामा रहेका कारण देशमा निराशा बढेको छ ।’ यो कार्य लोकतन्त्रको मर्मप्रतिकै उपहास भएको बताउँदै महासचिव पोखरेलले भने– लोकतन्त्र भनेको जनताले मन पराएकाले शासन गर्ने परिपाटी हो तर यहाँ जनताले मन नपराएकाले शासन गरिरहेका छन् ।

राष्ट्र निर्माणको लागि बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने भए पनि जनताले बलियो राजनीतिक शक्ति निर्माण गर्न नसक्दा देश नबनेको र दुनियाँमा काहीँ पनि गठबन्धनले देश नबनाएको उनको भनाइ छ । देशमा बढ्दो निराशाकै कारण युवा पलायन बढेको र मुलुकलाई निराशातर्फ लैजान काम गठबन्धनधारी माओवादी र कांग्रेसले गरेको उनले बताए ।

पोखरेलले भने– गठबन्धन नेतृत्वको सरकारको अकर्मण्यताको कारण आज जनता निराश भएका छन्, युवा पलायन भएका छन् भन्ने कुराको सच्चाइलाई बुझ्न हामीले जति ढिला गर्दछौँ मुलुक बन्न त्यति नै ढिलाइ हुन्छ । उनले आज एमाले सत्तामा नहुँदा पनि प्रहारको निशाना एमाले नै भइरहेको र सत्तामा बस्नेहरूले एमालेलाई कहाँ र कुन भ्रष्टाचार र बेथितिमा कसरी जोड्न सकिन्छ भनेर लाग्दा पनि एमालेले क्लिन चिट पाउने र सत्ताधारीका अनुहार देखिने गरेको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण, बालुवाटार जग्गा प्रकरणदेखि पछिल्लो अनुसन्धानबाट बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरण समेत गरी सबैमा सत्ताधारीकै अनुहार आएको महासचिव पोखरेलले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस