के सुमधुर बन्ला त पारस र हिमानीको सम्बन्ध ?

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०७५, १४ : ०३
के सुमधुर बन्ला त पारस र हिमानीको सम्बन्ध ?

काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह गोरखामा हिमानी ट्रष्टले आयोजना गरेको एउटा कार्यक्रममा सँगसँगै देखा परे । कार्यक्रम थियो, भूकम्पमा क्षतिग्रस्त भएको गोरखा क्षेत्र नम्बर २ को पालुङ्टारस्थित भवानी उच्च माध्यमिक विद्यालयको नवनिर्मित दुईतले भवन उद्घाटनपछि हस्तान्तरण गर्ने । 
यो विद्यालय हिमानी ट्रष्टले निर्माण सम्पन्न गरेको हो । 

जोडो सु बुद्धिष्ट अर्गनाइजेसन जापान र जापानी दूतावासको सहयोगमा चार करोड ९५ लाख रुपैयाँ लागतमा ट्रष्टले भूकम्प प्रतिरोधी भवन बनाएको  हो । भवन हस्तान्तरण कार्यक्रममा ट्रष्टकी अध्यक्ष एवं पूर्वयुवराज्ञी हिमानी, पूर्वयुवराज पारस र पूर्वरानी कोमल पुगेका थिए। लामो समयपछि भेट भएका पारस र हिमानी कार्यक्रमस्थलमा नजिकनजिक थिए, तर सँगै थिएनन् । उनीहरु दुईको बीचमा पूर्वरानी कोमल प्रमुख अतिथिको रुपमा बसेकी थिइन् । हिमानी ट्रष्टका संरक्षक पूर्वराजा ज्ञानेन्द्र शाह भने त्यहाँ पुगेका थिएनन् । 

औपचारिक कार्यक्रमपछि विद्यालय भवन हस्तान्तरण भयो, तर पूर्वयुवराज पारस र हिमानीको दिलबाट माया एक अर्कोमा स्थानान्तरण भयो कि भएन ? कसैले मेसो पाएनन् । हिमानी र कोमल स्थलमार्गबाट कार्यक्रमस्थल पुगेका थिए । पारस फिस्टेल एयरको हेलिकप्टरमार्फत बहिनी प्रेरणा र दिलाशालाई लिएर पुगेका थिए । हिमानीभन्दा पहिले कार्यक्रमस्थलमा पुगेका पारसले मुस्कानका साथ हिमानीको स्वागत गरेका थिए । प्रत्युत्तरमा हिमानीले पनि पारसलाई मधुर मुस्कान फ्याँकेकी थिइन् । दुबैका नजर जुधे तर ओँठ चलेनन् । शायद दुबैको मुटुको ढुकढुकीले भने दोहोरी खेलिरहेको थियो होला, .... माया लुकीलुकी भन्दै ।

प्रेमिकालाई छाडेर परिवारसँग बस्नका लागि पारस थाइल्यान्डबाट नेपाल फर्किएपछि पत्नी हिमानीसँग उनको सम्बन्ध कसिलो बन्दै गएको छ । खुकुलो सम्बन्धलाई बाँध्ने सुत्राधार हुन् पूर्वरानी कोमल । उनको निमन्त्रणामा केही महिना अघि त्रिसरा रेस्टुरेन्टमा पारस परिवारसँगै रात्रिभोजका लागि पुगेपछि हिमानी र पारसको देखादेख सुरु भएको थियो । त्यसपछि असार २३ गते नेपालगञ्जमा पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव  मनाउने कार्यक्रममा पनि पारस र हिमानीको भेट भयो, तर बोलचाल भने भएन । पारस अझै पनि निर्मल निवासमा बस्दैनन् । उनी आफ्ना छोराछोरी भेट्नका लागि यदाकदा पुगेपनि उनी अनामनगरको अपार्टमेन्टमा बस्दै आएका छन् । हिमानी भने निर्मल निवासमा चञ्चल मनलाई थुम्थुम्याएरै बसेकी छिन् ।

माताले गर्दा मायामा घाटा
धार्मिक मान्यता राख्ने हिमानीलाई सबिता भन्ने माताले पतिसँग सम्बन्ध नराख्नू, नबोल्नु भनेकी थिइन् । हिमानी उनै माताको भनाईमा अडिग रहेको कतिपयले बताएका छन् । यो दम्पत्तीमा देखिएको विभाजनको प्रमुख कारण माता भने होइनन् । पारसको परस्त्री सम्बन्ध र हिमानीको इगोले पनि काम गरेको दरबार नजिक हुनेहरू बताउँछन् ।

लामो समय विदेशी प्रेमिकासँग थाइल्यान्डमा बसी जेल समेत परेका पारसको रिहाइका लागि हिमानीले कम सकस उठाएकी थिइनन् । त्यसै बेलादेखि बाबु ज्ञानेन्द्र शाहसँग पारसको सम्बन्ध बिग्रिएको थियो । उनलाई निर्मल निवास प्रवेशमा रोक थियो । पारस सुध्रिन थालेपछि पूर्वराजा ज्ञानेन्द्रको मन पग्लिन थालेको चर्चा हुन थालेको छ । अर्को चर्चा छ, हिमानी र पारसको सम्बन्ध सुधारको । हिमानी ट्रस्टको कार्यक्रममा सहभागी भएर पारसले यो चर्चालाई बल दिएका छन् ।

सम्बन्ध सुधारको संकेत
पारसकी फुपु शोभा शाहीका छोरा हिमवानको विवाहमा एउटै फ्रेममा पारस–हिमानी पहिलो पटक देखा परेका थिए । त्यसैबेला दुलाहा र दुलहीसँगै फोटो खिच्ने क्रममा पारस र हिमानीले छोराछोरी साथमा राखेर फोटो खिचाएका थिए । 
२०७१ को १९ चैतमा पूर्व युवराज पारस नेपाल फर्किएका थिए । पारसले आफ्ना सन्तानसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपनि उनी हिमानीसँग एउटै तस्बिरमा देखिएका थिएनन् । थाइल्याण्डमा रहँदा कन्निका चाइयासार्नसँग प्रेम सम्बन्धमा भुलेपछि हिमानी र पारसको सम्बन्धमा उतार चढाव देखा परेको थियो ।

युवराज भएपछि एभरेस्ट होटलमा आफ्नी पत्नी हिमानीलाई तर्साउन हवाइ फायर गरेको भन्दै विगतमा नै पारस विवादमा तानिएका थिए । हिमानीसँगको झगडाका कारण उनले गोली चलाएको भनिए पनि सो घटना गुपचुप नै राखिएको थियो । २०६८ जेठमा पारसले बहिनीज्वाइँ राजबहादुर सिंहलाई कुटेको खबर सार्वजनिक भएको थियो । बहिनीलाई दुःख दिएको भन्दै उनले याक एन्ड यतीको रोयल क्यासिनोमा पुगेर सिंहलाई कुटेका थिए ।

पारस थाइल्यान्डमा रहँदा पनि उनी पटक पटक लागू पदार्थराखेको अभियोगमा समातिए, जेलसमेत परे । हिमानी भने काठमाडौँमा रहेर समाजसेवामा लागिन् । थाइल्यान्डबाट स्वदेशमै बस्ने गरी फर्किए पनि पारस पूर्व युवराज्ञी हिमानी र आफ्ना छोराछोरीसँग भने बसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस