सर्लाहीमा कार्यालयभित्रै प्रहरीमाथि छुरा प्रहार

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १३ : ५५
सर्लाहीमा कार्यालयभित्रै प्रहरीमाथि छुरा प्रहार

काठमाडौं। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ ।महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रवार छुरा प्रहार भएको हो ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाका अनुसार उनीमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको हो ।कार्यालय बाहिर पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको उनले जानकारी दिए ।

 

 

ट्राफिक कार्यालय अगाडि पूर्वपश्चिम राजमार्ग पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाइकलमा आएका रौतहट राजपुर–१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए ।

उनका अनुसार महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा उनलाई तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखिएको छ ।छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको पनि थापाले जानकारी दिए ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।