गठबन्धन सरकारका कारण देश बर्बादीतिर धकेलियो : शंकर पोखरेल

सफल खबर संवाददाता

विहीबार, १८ माघ २०८०, २० : ३२
गठबन्धन सरकारका कारण देश बर्बादीतिर धकेलियो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देश बर्बादीतिर धकेलिएको आरोप लगाएका छन् । एमाले रौतहटले बिहीबार सदरमुकाम गौरमा आयोजना गरेको प्रतिनिधि परिषद् भेलालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनले देश बर्बादीतर्फ धकिलिएको आरोप लगाएका हुन् । 

‘विकासविरोधी अहिलेको सत्ता गठबन्धन सरकार जनताको हितमा नभई आफ्नै सत्ता टिकाउन सीमित छ,’ उनले भने, ‘यसरी देशले निकास पाउँछ भन्ने लाग्दैन ।’ उनले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आमजनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहबाट जोगिएका कार्यकर्ताहरू अब कुनै हालतमा दायाँबायाँ नहुने दाबी गरे । ‘आज हामी जहाँ कार्यक्रम गर्दै छौँ त्यो ठाउँमा उहाँ (नेपाल) को उपस्थिति हुन्थ्यो,’ उनले भने, ‘उनले गद्दारी गरे । अब नेपाल र साहको गद्दारीले केही हुनेवाला छैन ।’

महासचिव पोखरेलले संघ र प्रदेश सरकारमा रहेको गठबन्धनले देशको विकासभन्दा आफ्नै विकास गर्न तल्लीन रहेको आरोप लगाए ।