नेपालमै नोट छाप्न सरकारले विधेयक ल्याएको हो : सञ्चार मन्त्री शर्मा

सफल खबर संवाददाता

विहीबार, १८ माघ २०८०, १६ : ३१
नेपालमै नोट छाप्न सरकारले विधेयक ल्याएको हो : सञ्चार मन्त्री शर्मा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सुरक्षित मुद्रणदेखि नोटसम्बन्धी छपाई नेपालमै गर्ने व्यवस्थाका लागि सुरक्षित मुद्रण विधेयक ल्याइएको बताएकी छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका छलफलका क्रममा मुलुकभित्रै राहदानी, नोट, सवारी अनुमतिपत्र र राष्ट्रिय परिचयपत्रलगायतका सामग्री सुरक्षितरूपमा छपाइ गर्न उक्त विधेयक ल्याइएको बताइन्।

उनले सुरक्षित मुद्रणको काम नेपालमा नै हुँदा डाटा सुरक्षित रहने र ठूलो राजस्व बाहिर जानबाट जोगिने बताएकी थिइन्। सुरक्षित मुद्रणजस्तो महत्वपूर्ण विषय गठन आदेशको भरमा चलाउँदै आएकोमा कानुन बनेपछि उक्त आदेश खारेज हुने उनको भनाइ छ। 

उनले राष्ट्रियसभाको संशोधन र अहिलेको संशोधनलाई ध्यानमा राखेर टुंगोमा पुर्‍याउनुपर्ने बताइन्। बैठकमा समिति सदस्यहरूले सुरक्षण मुद्रणको कामलाई सुरक्षित बनाउन आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए।

एमाले सांसद रघुजी पन्तले सरकारले नै सुरक्षित मुद्रण स्थापना गर्दा खर्चिलो हुने भएकाले यसको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने सुझाव दिए। उनले विद्युतीय बैंकिङ कारोबार बढ्दै गएको अवस्थामा विस्तारै एक हजार र ५ सयका नोटहरू बजारबाट खिच्नुपर्ने पनि बताए। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारी वेवसाइटहरूको सेक्युरिटी अडिट हुन नसक्दा ह्याकिङक बढेको बताइन्। उनले टियुको वेवसाइट ह्याक हुनु गम्भीर विषय भएकाले यसमा सम्बन्धित व्यक्तिलाई जिम्मेवार बनाउनुपर्ने बताइन्। त्यस्तै अन्य समिति सदस्यहरूले सुरक्षाको हिसाबले राष्ट्रिय महत्व रहेका विषयमा गम्भीर भएर कानुनलाई अघि बढाउनुपर्ने सुझाव दिएका थिए।  

प्रतिक्रिया दिनुहोस