कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव छ : मन्त्री भुसाल

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, १६ : २७
कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव छ : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन्। शुक्रबारबाट सुरु भएको तीन दिने कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौँ नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताए।

उनले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको उल्लेख गरे। उनले उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने बताए। उनले कृषिमा अबका दिनमा यान्त्रीकरणको महत्त्व बढ्दै गइरहेको बताए।

उनले भने, ‘कृषिमा प्रगति हुने नै प्रविधिको विकासमार्फत हो। आजसम्मको हामीले ढुङ्गे युगदेखि अहिले आएर जुन खालका अटोमेटिक मेसिनहरुको प्रयोग भएको छ, यो इतिहासलाई हेर्दा यही देखिन्छ। प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ।’

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले किसानहरू ठगिने कुरालाई रोक्न जरुरी रहेको बताए। उनले व्यवसायीहरूको अस्वस्थ प्रतिस्पर्धाका कारण किसानहरू ठगिने गरेको बताए।

शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १४ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस