दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

रासस

विहीबार, ११ माघ २०८०, १४ : १६
दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । बर्सेनि सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि प्रहरीले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा साना तथा ठुला सवारीका चालकलाई उक्त कार्यक्रम राखिएको जनाइएको छ ।

कार्यक्रमअन्तर्गत दैनिक दुर्घटना न्यूनीकरणका लागि गर्नुपर्ने सावधानीका साथै दुर्घटना भइहाले गर्ने प्राथमिक उपचारलगायतका कामबारे जानकारी गराउन थालिएको हो । बुधबारदेखि बिपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङमा सुरु गरिएको उक्त कार्यक्रम जिल्लाअन्तर्गतका अन्य राजमार्ग एवं सहायक मार्गमा सञ्चालन गर्दै जाने ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेले बताए ।

उहाँका अनुसार ट्राफिक र स्वास्थ्य कार्यालयका अधिकारीले चालकलाई दुर्घटना न्यूनीकरणका उपाय तथा प्राथमिक उपचारका बारेमा जानकारी गराइन्छ । घिमिरेका अनुसार जिल्लामा चालु वर्षको पुस मसान्तसम्म २२ जनाको दुर्घटनामा निधन भएको छ भने ८२ दुर्घटना भएका छन् । तीव्रगति, बढी आत्मविश्वास तथा अस्वाभाविकरूपमा उछिन्न खोज्नाले र चालक अनिदो हुँदा दुर्घटना हुने गरेको घिमिरेले जानकारी दिए ।

नेपाल जनसङ्ख्यायिक स्वाथ्य सर्वेक्षणले दुर्घटनामध्ये ६८ प्रतिशत मोटरसाइकल दुर्घटनामा पर्ने देखाएको छ । यसमध्ये पनि ७५ प्रतिशत बागमती प्रदेशमा दुर्घटनामा पर्ने गरेका छन् । ट्राफिक प्रहरी र स्वास्थ्य कार्यालयको समन्वयमा मङ्गलबार बनेपाको शिक्षा सदन माध्यमिक विद्यालय तथा बेलर इन्टरनेशनल स्कुलमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीका लागि सडक दुर्घटना रोकथाम तथा न्यूनीकरण र विद्यार्थी सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुर्घटनापछिका समस्या, दुर्घटना हुने कारण, सवारी चालक अनुमतीपत्र, सवारी चलाउँदा मादक पदर्थ र लागूपदार्थ सेवन नगर्न तथा सिकेका कुरा घरपरिवार र समुदायमा सचेत गर्न विद्यार्थीसँग अनुरोध गरे ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकाल, स्वास्थ्य कार्यालयका प्रमुख अनिता खनाललगायतले सडक दुर्घटना न्यूनीकरणमा सरोकारवाला व्यक्ति र सङ्घसस्थाले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए। स्वास्थ्य कार्यालयले ट्राफिक प्रहरीसँगको समन्वयमा अन्य केही विद्यालयका विद्यार्थीसँगको सचेतनापछि चालक र सहचालकलाई पनि प्रशिक्षण दिने योजना बनाइएको छ ।

दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत ट्राफिक प्रहरीले कम्युनिटी वेलनेश सेन्टर बनेपाको प्राविधिक सहयोगमा गत सोमबार बनेपामा चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्दा अरनिको राजमार्ग भएर गुड्ने सवारीसाधनका अधिकांश चालक तथा सहचालक मधुमेह र उच्च रक्तचापका बिरामी रहेको पाइएको छ । स्वास्थ्य परीक्षण गराएका ७४ मध्ये १५ जनामा उच्च रक्तचाप र १२ जनामा मधुमेह (सुगर) देखिएको थियो । दुर्घटना बढ्दै गएको तथा चालक, सहचालकले यात्रुसँग राम्रो व्यवहार नगरेको गुनासो आएपछि स्वास्थ्य जाँच सुरु गरिएको घिमिरेले बताए ।

घिमिरेका अनुसार अधिकांश चालकमा बिहान चार–पाँचदेखि बेलुका नौ–दश बजेसम्म झण्डै १८ घण्टा सवारी चलाउँदा राम्रो निद्रा नपर्ने, खाना खाने समय नमिल्नेलगायत कारण उनीहरूको स्वास्थ्यमा समस्या देखिएको हो । सवारी दुर्घटना न्यूनीकरण गर्न चालकको स्वास्थ्य अवस्थासँगै सवारीसाधनको जाँच महत्त्वपूर्ण हुने जनाइएको छ ।

जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने सडक दुर्घटना रोकथाम तथा न्यूनीकरण समितिले न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण, विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतनालगायतका कार्य निरन्तर गरिरहने जनाएको छ । काभ्रेपलाञ्चोकअन्तर्गत काठमाडौँबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा र रामेछाप, बिपी राजमार्गबाट सिन्धुली हुँदै मध्य एवं पूर्वी तराई तथा हेलम्बु राजमार्गबाट सिन्धुपाल्चोकको मेलम्चीमा यातायातका साधन सञ्चालन हुन्छन् ।

प्रतिक्रिया दिनुहोस