‘दुधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, ०७ : ५७
‘दुधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’

इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा  आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दुध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।

इलाम–५ का किसान वीरबहादुर अधिकारीले गतसाउन १५ देखि दुधको पैसा नपाएको गुनासो पोखे । “साउनयता दुधको भुक्तानी भएको छैन । पाउनुपर्ने रकम नपाएपछि परिवार चालाउन धौधौ भइसक्यो”, उनले भने, “हामीले कसलाई भन्दा भुक्तानी हुने हो, थाहा छैन । हाम्रो अभिभावक नगरपालिका हो । नगरपालिकाले आवश्यक पहल गरिदिनुपर्छ ।”

सोही ठाउँका अर्का किसान गङ्गाप्रसाद नेपालले किसानले पाउनुपर्ने रकम स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर भुक्तानी गर्न माग गरे । उनले किसानले दुधको भुक्तानी नपाउँदा नगरपालिकाले राहतको कार्यक्रम नल्याएको गुनासो गर्दै दुग्ध उत्पादक किसानलाई राहत ‘प्याकेज ’ ल्याउन नगरपालिकासँग माग गरे ।

इलाम–५ माइपोखरीका किसान भुप्रसाद बजगाईँले दुध लिन दुग्ध विकास संस्थान (डिडिसी)को गाडी दैनिक आउन छोडेकाले दुध बिक्री हुन छोडेको बताए । “डिडिसीको गाडी दैनिकरूपमा दुग्ध चिस्यान केन्द्रमा आउनुपर्ने हो । तर आजकल दुई–तीन दिनमा मात्र आउँछ । नआएको दिन दुध बिक्री हुँदैन, किसान मारमा छन्”, उनले भने, “किसानको दुध लिन कमसेकम डिडिसीको गाडी दैनिकरूपमा आउने वातावारण बनाउन नगरपालिले पहल गर्नुपर्छ ।”

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामका अध्यक्ष होम कट्टेलले गत भदैदेखि किसानले दुधको भुक्तानी नपाएको गुनासो गरे । उनले माघ तेस्रो सातासम्म पनि दुधको भुक्तानी नपाए किसानले आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए ।

“किसानले गत भदौदेखि हालसम्म मासिक १५ दिनको मात्र दुधको भुक्तानी पाएका छन् । किसानलाई दैनिक गुजारा चलाउनसमेत धौधौ पर्न थालिसक्यो”, उनले भने, “किसानका समस्या समाधानका लागि चाँडो पहल गरियोस् । यो महिनाको तेस्रो सातासम्म पनि भुक्तानी नपाए किसान आन्दोलित हुनुको विकल्प छैन ।”

डिडिसीले साउनदेखि पुससम्मको नौ लाख ५६ हजार पाँच सय ६० लिटर दुधको भुक्तानी दिन बाँकी रहेको अध्यक्ष कट्टेलले बताए । डिडिसीले दुग्ध चिस्यान केन्द्र बिब्ल्याँटेमा दुई लाख ११ हजार ५० लिटर, दुग्ध चिस्यान केन्द्र तीनघरेमा दुई लाख ६१ हजार छ सय १० लिटर, दुग्ध चिस्यान केन्द्र फिक्कलमा एक लाख ८२ हजार चार सय लिटर र दुग्ध चिस्यान केन्द्र शान्तिडाँडामा तीन लाख एक हजार चार सय लिटर दुधको भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस