सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

सफल खबर संवाददाता

सोमबार, ०८ माघ २०८०, १० : २०
सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । उनी नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

हाल थुनामा रहेका तामाङविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । मुद्दामा इच्छाराजसहित उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठलाई विपक्षी बनाइए पनि छोरीहरुले भने सफाई पाएका छन् ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गरे पनि सजाय भने निर्धारण गरेको छैन ।

तामाङमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि माघ २१ गतेका लागि अर्को इजलास तोकिएको छ ।

सहकारीको रकम आफ्ना विभिन्न कम्पनीमा लगानी गरेको र कम्पनीको नाफा अन्यत्र लगानी गरेको आरोप उनीहरुमाथि थियो ।

तामाङ सिभिल होम्सका अध्यक्ष समेत हुन् । उनकै नेतृत्वमा खुलेको सिभिल बैंक भने हाल हिमालय बैंकमा मर्ज भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस