ज्ञानेन्द्र शाहसम्बन्धीको ब्यानरमा बागमतीका गृहमन्त्रीको हस्तक्षेप

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १३ : ४४
ज्ञानेन्द्र शाहसम्बन्धीको ब्यानरमा बागमतीका गृहमन्त्रीको हस्तक्षेप

काठमाडौँ । मकवानपुरको हेटौँडा भ्रमणमा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहसम्बन्धी स्वागत÷प्रचार सामग्रीमा सरकारले आपत्ति जनाएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको निर्देशनमा संविधान विपरीत पूर्वराजाको स्वागतमा ब्यानर प्रयोग गरिएको भन्दै प्रहरीले सच्याउन लगाएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित भुटनदेवी मन्दिर नजिक राजावादीहरुले ‘राजा ज्ञानेन्द्र विरविक्रम शाहदेव’ उल्लेखित स्वागतद्वारा निर्माण गरेका थिए । तर, मन्त्री श्रेष्ठले यसबारे जानकारी पाएपछि गेट हटाउन लगाएका थिए ।

सो क्रममा विवाद भएपछि राजावादीहरु ब्यानरमा उल्लेखित ‘राजा’ शब्दअघि पूर्व’ शब्द थप्न राजी भएका थिए । सोही सच्याइएको बोर्ड पछि राख्न दिइएको प्रहरीले जनाएको छ । श्रेष्ठले नेपाल गणतान्त्रिक मुलुक भएकाले यहाँ कुनै राजा नभएको बताए । ‘कसैलाई राजा भनेर लेख्नु संविधान विपरीत हो । त्यसैले राजा लेखेको ब्यानर हटाउन प्रहरीलाई निर्देशन दिएको हुँ ।

राजा लेखेको ब्यानर सच्याएर पूर्वराजा लेखिएछ, राम्रो भयो’, उनले भने । पछिल्लो समय देशभर विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका पूर्वराजा आइतबार हेटौँडा पुगेका हुन् । शाह हेटौंडाको विभिन्न धार्मिक क्षेत्रहरुको अवलोकन भ्रमण तथा पूजा आरधनाको सहभागी हुने भएपछि स्वागतको लागि प्रतिनिधीसभा सदस्य तथा राप्रपाका केन्द्रीय सदस्य दीपक बहादुर सिंहको संयोजकत्वमा ११११ सदस्यीय मुल समिति गठन गठन भएको थियो ।