चितवनको इच्छाकामनामा ढुङ्गा उत्खननले सुक्यो पानीको मुहान

सफल खबर संवाददाता

शुक्रबार, ०५ माघ २०८०, १३ : ५५
चितवनको इच्छाकामनामा ढुङ्गा उत्खननले सुक्यो पानीको मुहान

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुङ्गा उत्खनन हुन थालेपछि पानीका मुहान सक्दै जान थालेका हुन् । 

स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा उक्त स्थानमा ढुङ्गा उत्खनन भइरहेको स्थानीयवासी रेशम चेपाङले बताए । ‘अवैधरुपमा उक्त स्थानमा ढुङ्गा उत्खनन हुने गरेको छ । ती ढुङ्गा चितवनका विभिन्न होटल निर्माण प्रयोजनका लागि प्रयोग गरिन्छन्’, उनले भने ।​

 

अवैधरुपमा ढुङ्गा उत्खनन गर्न थालेपछि खानीको डाँडाभन्दा तल रहेका चेपाङ गाउँ गारघर, जैथली, चौकीडाँडा, साप्रेनी र बङ्ग्याङलगायतमा पहिरोको जोखिममा बढेको छ । करिब २० वर्ष अघि पनि उक्त स्थानबाट ढुङ्गा निकाल्दा पहिरो गएको थियो । पुनः सोही ठाउँबाट जथाभाबी ढुङ्गा निकाल्न थालेपछि स्थानीयमा पहिरोको जोखिम बढेको भन्दै त्रास छाएको छ ।

ढुङ्गा उत्खनन गर्दै गर्दा ती गाउँमा पिउने पानीको मुहानमा सुक्दै गएको रेशमले बताए । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र वडाध्यक्ष सन्तबहादुर रानालाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको भन्दै अनुगमनसमेत गर्न नआएको उनको भनाइ थियो ।

 

ढुङ्गा उत्खनन कार्य रोक्न आग्रह गर्दा उत्खननको नेतृत्व गर्ने स्वास्थ्य चेपाङले चुप लागेर बस्न भनी धम्की दिएको रेशमले जानकारी दिए ।उनले भने, ‘ढुङ्गा उत्खनन भएको थाहा पाएपछि गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएँ, तर उहाँहरू अनुगमनमा आउनु भएको छैन ।

पानीको मुहान सुक्दै गएको र पहिरोको जोखिम भएकाले उत्खनन कार्य रोक्न वडासदस्य विक्रम चेपाङलाई आग्रह गरे पनि हालसम्म सुनुवाइ भएको छैन । ढुङ्गा उत्खनन गर्ने ठेकेदारले चुप लागेर बस्ने धम्की दिएको छ ।’