आगामी जेठभित्रै जिल्ला अधिवेशन सम्पन्न गर्ने एमाले लुम्बिनीको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, ०५ माघ २०८०, ११ : ५७
आगामी जेठभित्रै जिल्ला अधिवेशन सम्पन्न गर्ने एमाले लुम्बिनीको निर्णय

बुटवल। नेकपा एमाले लुम्बिनी प्रदेशका सबै जिल्लाको अधिवेशन फागुन महिनादेखि जेठसम्म हुने भएको छ ।कपिलवस्तुमा बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम सचिवालय बैठकले आगामी २०८१ जेठ महिनाभित्रै प्रदेशका सबै जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशमा १२ वटा जिल्ला छन् । विसं.२०८० सम्मलाई सदस्यता नवीकरण गर्ने समय राख्ने निर्णय गरेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।बैठकले प्रदेश सल्लाहकार चयन, जेष्ठ कम्युनिस्ट मञ्चको गठन र ३१ वटा विभागलाई पूर्णता दिएको छ । तर त्यो प्रस्ताव माघ १४ गते बस्ने पूर्ण बैठकले पास गरेपछि सार्वजनिक गर्ने उनले बताए ।

बैठकले माघभित्र सबै जिल्ला तहका र फागुनभित्र पालिका तहका प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने, फागुनदेखि जिल्ला अधिवेशन थाल्ने र जेठसम्म पूरा गरिने, आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका उम्मेदवार जिताउने रणनीतिका साथ लाग्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी केन्द्रीय सचिव, लुम्बिनी प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री पद्‌मा अर्यालले निर्धारित समय तालिकामा पार्टीका सबै तहका कमिटीले कार्यसम्पादन पूरा गरेर नमूना प्रदेश बनाउने गरी लाग्न निर्देशन दिइन् ।

उनले सदस्यता नवीकरण, सबै तहका कमिटीलाई क्रियाशील बनाउँदै पार्टी केन्द्रले बनाएको रणनीतिअनुसार जिल्ला र स्थानीय तहको नेतृत्वसँग समन्वय गरेर जान आग्रह गरेकी थिइन् ।