७ अंकले घट्यो नेप्से, कारोबार रकम ८ अर्ब १७ करोड

सफल खबर संवाददाता

विहीबार, ०४ माघ २०८०, १५ : २७
७ अंकले घट्यो नेप्से, कारोबार रकम ८ अर्ब १७ करोड

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ अंकले घटेको छ । यस दिन बजारमा उच्च उतारचढाव देखियो । बिहान ११ : १४ बजे बजारको परिसूचक नेप्से २१३३ विन्दुसम्म झरेको थियो । उतारचढावका बीच दिउँसो २ : ३४ बजे २१६७ विन्दुसम्म पुगेको बजार अन्ततः बन्द हुँदा २१५५ विन्दुमा कायम भयो, जुन अघिल्लो दिनको तुलनामा ७.२४ अंक कमी हो ।

परिसूचक नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोडमा खुम्चियो । यस दिन हाइड्रोपावरसहित ३ समूह बढे । अन्य सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने हाइड्रोपावर ०.७९ र फाइनान्स ०.२० प्रतिशत बढे । होटल समूह सबैभन्दा धेरै १.४ प्रतिशत घट्यो । बैंकिङ ०.६४, विकास बैंक ०.६५, लगानी ०.७५, जीवन बीमा ०.५२, उत्पादन १.२८, माइक्रोफाइनान्स १.०२, निर्जीवन बीमा १.१३ र ब्यापार समूह ०.८९ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि रिडी पावर, गणपति लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर र माहुली लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सीईडीबी हाइड्रोपावरको ९.८ प्रतिशत बढ्यो । दोर्दी हाइड्रोपावरको ८.४, हिमालयन रिइन्स्योरेन्सको ८.४, इनिफिनिटी लघुवित्तको ७.९ प्रतिशत मूल्य बढ्यो । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशत घट्यो । ग्लोबल आईएमई लघुवित्तको ७.३, थ्रीस्टार हाइड्रोको ७.१, नेपाल वेयरहाउजिङको ५.७ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सोनापुर सिमेन्ट, ङादी ग्रुप, रिडी पावर र नेपाल वेयर हाउजिङ कम्पनी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस