दुध उत्पादक चितवनका किसानको आन्दोलन स्थगित

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, १३ : ३३
दुध उत्पादक चितवनका किसानको आन्दोलन स्थगित

काठमाडौँ । चितवन जिल्लाका दुग्ध उत्पादक सहकारी संघद्वारा घोषित आन्दोलनका कार्यक्रम स्थगित भएको छ । सरकारले वार्ताका लागि बोलाएकाले सो आन्दोलन स्थगित गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताएका हुन् ।

संघले दुधको २२ करोड रकम भुक्तानी नभएको भन्दै गत पुस २९ देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । सरकारले आफूहरूको माग १५ दिनमा सम्बोधन गर्ने आश्वासन दिएकाले हाललाई सो आन्दोलन स्थगित गरेको उनले सुनाए । बगालेले दुध उत्पादन गर्ने चितवनका ४० हजारभन्दा बढी किसानले भदौदेखि नै भुक्तानी नपाएको बताए ।

चितवनका दुध उत्पादक किसानले दुधको बजारीकरण सहज गर्नुपर्ने, दुधको भुक्तानी समयमै हुनुपर्ने, सहुलियत ऋण सुलभ तरिकाले किसानले प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्ने, बिमामा देखिएको समस्याको सहजीकरण गर्नुपर्ने र बागमती प्रदेश सरकारबाट दिँदै आएको दुध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले पाउनुपर्ने माग राखेको बगालेले बताए । 

प्रतिक्रिया दिनुहोस