लागुऔषधसहित आठ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, २१ : ०८
लागुऔषधसहित आठ जना पक्राउ

काठमाडौँ । काठमाडौँ, धनगढी, पोखरा, विराटनगर, झापा र नवलपरासीमा लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । काठमाडौँ चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा कमल गाउँपालिका-१ सरणपाडाका २८ वर्षीय सन्देश पाठकलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । 

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौँ आइरहेको बसलाई जाँच गर्ने क्रममा त्यसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १० ग्राम चार सय मिलीग्रामसहित दुई जनालाई बिहीबार राति पक्राउ गरिएको छ । गैरकानुनी गतिविधि गरेको अभियोगमा मेचीनगर नगरपालिका-१० धुलाबारीका ४६ वर्षीय मोहन राजवंशी र उनकी श्रीमती ३६ वर्षीया दिलकुमारी छन् ।  

पोखरा महानगरपालिका-१३ सङ्गमटोलका  २३ वर्षीय सागर परियार, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट २८ वर्षीय अशोक कार्की र नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका-१४ कोलटाँडीबाट रूपन्देही तिलोत्तमा नगरपालिका-२ का २८ वर्षीय रविसोम मगर र धनगढी उपमहानगरपालिका-१ कैलालीपुलबाट लागुऔषध ब्राउनसुगर एक ग्राम चार सय २० मिलीग्रामसहित दुई जनालाई गए राति पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।