अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गर्यो : सीके राउत

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०८०, १६ : २९
अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गर्यो :  सीके राउत

कैलाली । जनमत पार्टीका अध्यक्ष सीके राउतले अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको आरोप लगाएका छन् । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी उनले माओवादीले गरेको जनयुद्धतर्फ सङ्केत यस्तो बताएका हुन् ।

‘यहाँहरूले हजारौंहजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद हुन्छ, त्यो कस्तो अधिकार हो हाम्रो ?’, उनको प्रश्न थियो । नेपालभित्र बोलिने सबै भाषा र पहिचानलाई सम्मान गर्नुपर्ने उनले बताए । तर, सरकारबाटै विभेद हुने गरेको राउतको आरोप छ ।

‘पुस १६ गते हामीले धोती लगाउँदा खोल्ने केही अरू कोही थिएनन्, प्रहरी थिए । सरकारले आफ्नै मन्त्रीलाई समात्ने, गठबन्धनको सरकारले गठबन्धन दलको नेतालाई समात्ने यस्तो पनि हुन्छ ?’, उनले भने।

उनले देशमा सुशासन गुम्दै गएको टिप्पणी गरे । ‘सुन काण्डदेखि बालुवाटार जग्गा, एनसेल सबै काण्ड छन्, कहाँ छ सुशासन ?’, उनले भने, ‘चार जना नेता बसेपछि जतिसुकै ठूला भ्रष्टाचार पनि सामसुम हुन्छ ।’

उनले आफूहरू राजनैतिक अधिकारको लागि लडिरहेको बताए ।