राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्री कार्की

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०८०, १४ : ०४
राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । अग्रसेन भवन विर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्योति ल्याउने समूहको विदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारी सरकारको साझेदार नभई अंग भएको बताएका हुन् ।

‘व्यवसाय, व्यवसायी, उद्योगी र ब्यापारीको परिभाषा कोशीले बदलेर ब्यवसायलाई सरकार बाहिर होइन सरकारभित्रको नै अंग भएको प्रमाणित गर्न सबैको सहयोग अपरिहार्य छ,’ उनले भने, ‘सरकार र उद्योगी, व्यवसायी एउटै हो, छुट्टै होइन । व्यवसायी सरकार बाहिर जानै सक्दैन ।’ कोशी सरकार व्यवसाय मैत्री भएकाले सबैलाई हातेमालो गरेर प्रदेशलाई समृद्ध र आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानमा सघाउन मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

‘सरकारले उद्योग, व्यवसाय क्षेत्रको उत्थान र विकासका लागि तालिम, प्रविधि हस्तान्तरण, पूँजी लगायत सहयोग गर्छ,’ उनले भने, ‘व्यवसायी सरकार भन्ला अलग हो, लुट्छ, कर छल्छ भन्ने बुझाइ कोशी सरकारले बदल्छ ।’ यहाँका उद्योगी, व्यवसायीले धेरै भन्दा धेरै आमदानी गरेर धेरै भन्दा धेरै कर तिरेर सरकारलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुर्याउनु अपरिहार्य रहेको उनले बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले विदेशमा महंगो मूल्यमा श्रम बेच्ने श्रमिकमाथि अ‍ौँलो उठाउने र अवहेलना गर्ने काम भइरहेको बताए ।  नेताहरूले भोटको राजनीतिमा लागेर श्रमिकलाई अपमान गर्ने भाषण तत्काल बन्द गर्नुको विकल्प नभएको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।
 

प्रतिक्रिया दिनुहोस