हामी अहिले पनि क्रान्तिमै छौं : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०८०, १५ : ४१
हामी अहिले पनि क्रान्तिमै छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु अहिले पनि क्रान्तिमै रहेको बताएका छन् । आज (बिहीबार) रामेछापको बेथान पानीघाटमा आयोजित २७औं बेथान वीरता दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले क्रान्ति अझै नसकिएको र स्वरुपमात्रै परिवर्तन भएको बताएका हुन् ।

‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ । हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं,’– प्रधानमन्त्री प्रचण्डले भने ।

तत्कालीन जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह भएको उनको दाबी छ । त्यतिबेला आफूहरुसँग ठूलो शक्ति नभएपनि महान् विचार र ऐतिहासिक लक्ष्यका कारण परिवर्तन सम्भव भएको उनले बताए । जनयुद्धका कारण नेपाली क्रान्तिले गुणात्मक उचाइ प्राप्त गरेको उनको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले बेथानका सहिदहरु तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारलाई सम्मान गरेका छन् । साथै, सहिद स्मारकको उद्घाटनसमेत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस