नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीको निगरानी

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०८०, ०८ : ४६
नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीको  निगरानी

कञ्चनपुर । नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्यालीलगायत नदीमा प्रहरीले निगरानी बढाएको छ । नदीमा नदीजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा)का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आर्थिक वर्ष  २०८०/०८१ को हालसम्म अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । “नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यमा संलग्नलाई नियन्त्रणमा लिएर नगरपालिकामा बुझाएका छौँ”, उनले भने, “ती ट्याक्टर सञ्चालकबाट जरिबानास्वरुप तीन लाख रकम असुल उपर गरिएको छ ।”
 
जरिबाना लिन थालेपछि अवैधरुपमा नदीजन्य पदार्थको चोरी निकासी हुने कार्यमा कमी आउन थालेको उनको भनाइ  छ । नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीसँगै स्थानीय बासिन्दाले पनि सक्रियता देखाउँदै आएका छन् । स्थानीय बासिन्दाले अवैध रुपमा नदीजन्य पदार्थ चोरी भइरहेको जानकारी पाउना साथ प्रहरीलाई खबर गरी सहयोग गरिरहेका छन् ।

डिभिजन वन कार्यालयले मातहतका सामुदायिक वनलाई नदीजन्य पदार्थको अवैध रुपमा संकलन गर्ने कार्य रोक्न पत्राचार गरेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलका अनुसार सामुदायिक वन क्षेत्रभित्रको खोला, खहरेबाट अनयमित तरिकाले नदीजन्य पदार्थ लैजाने गरेको र सामुदायिक वनभित्र राख्ने गरेको जानकारी पाइएकाले त्यस्ता कार्य रोक्नका लागि पत्राचार गरिएको छ ।
 
“त्यस्तो कार्य वन ऐन २०७६ विपरीत हुने हुँदा रोकथाम गर्नका लागि भनेका छौँ” उनले भने, “वन रक्षकको टोलीलाईसमेत अवैध रुपमा हुने नदीजन्य पदार्थको ओसारपसार रोक्ने कार्यमा परिचालन गरिएको छ ।”

इप्रका झलारीले शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा चालु आवको हालसम्म ट्राफिक नियम विपरीत चल्ने एक हजार ९०० सवारीसाधनलाई कारबाही गरी १२ लाख ८८ हजार ५०० रकम संकलन गरेको छ ।

अवैध रुपमा चोरी तस्करी भएको ७४ दशमलव ९२ क्यूविक सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि सवडिभिजन वन कार्यालय कलुवापुरलाई बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस