भूकम्पमा परी जापानमा १३ जनाको मृत्यु

एजेन्सी

मंगलबार, १७ पुस २०८०, ०९ : ४६
भूकम्पमा परी जापानमा १३ जनाको मृत्यु

एजेन्सी ।  जापानमा गएको शक्तिशाली भूकम्पपछिको आँधीको जोखिम टरेको छ। सोमबार दिउँसो इशिकावा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। 

त्यसलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले शक्तिशाली सामुद्रिक आँधीको चेतावनी जारी गरेको थियो। इशिकावाको तटीय क्षेत्रमा ५ मिटर अग्लो सामुद्रिक लहर आउन सक्ने चेतावनी जारी गरेपछि आसपासका हजारौँ मानिसलाई अन्यत्र सारिएको थियो। तर, शक्तशाली सुनामी नआएपछि चेतावनी फिर्ता लिइएको छ। 

यसैबीच भूकम्पपछि भत्किएका घरमा उद्धार र राहतको काम जारी छ। बीबीसीका अनुसार अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। अझै केही व्यक्ति हराइरहेको आशंका छ। ७ दशमलब ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४२ भन्दा बढी ठूला पराकम्प गइसकेका छन्। 

जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो। ९ म्याग्निच्युडको उक्त भूकम्पपछि आएको शक्तिशाली आँधीका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।