गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, ११ : ०५
गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार रिट दर्ता गराएका थिए । सोही रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

रिट निवेदनमा गभर्नर अधिकारीको शैक्षिक योग्यता चार्टड एकाउन्टेन्ट मात्रै रहेको र चार्टड एकाउन्टेन्ट भनेको स्नातकोत्तर तह नभई स्नातक तह मात्रै रहेकाले उनी राष्ट्र बैंकको गभर्नर पदका लागि योग्य नरहेको दावी गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा नेपाल राष्ट्र बैंकका गभर्नर पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर रहनुपर्ने भनिएको छ ।

गभर्नर अधिकारीले पेश गरेका शैक्षिक प्रमाणपत्रमा उनी चार्टड एकाउन्टेन्ट मात्रै रहेको देखिएको र चार्टड एकाउन्टेन्ट भनेको स्नातकोत्तर नभई स्नातक पद रहेको  रिटमा दावी गरिएको छ ।

सरकारले २०७६ चैत २४ गते महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्ति दिएको थियो । योग्यता नै नपुगेको व्यक्तिलाई गभर्नर बनाएको भन्दै सरकारको उक्त निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न रिटमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस